
१० चैत्र, काठमाडौं । अफलाइन ट्रिप गर्दै आएको पठाओ राइडर(चालक)लाई कम्पनीको ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध गरिएको छ ।
पठाओले प्रेस विज्ञप्ति जारी गर्दै राइडरलाई प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजसहितको कपडा) लगाउन नपाउने जनाएको हो ।
पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तिमा पठाओ नेपालले राइडर र यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समन्वयमा यस्तो निर्णय गरेको जनाइएको छ ।
कोरोना कहरमा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले चालक र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै प्रोटेक्टिभ गेयर अनिवार्य गरिएको भए पनि पछिल्लो समयमा पठाओ सेवालाई व्यवस्थित गर्ने क्रममा सरकारी निकायसँगको छलफल पछि अर्को सूचना नआएसम्म पठाओको लोगो या ब्रान्ड झल्काउने कुने पनि कपडा लगाउन नपाइने बताइएको छ ।
कम्पनीको यो सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेबार नहुने समेत विज्ञप्तिमा उल्लेख छ ।