
१२ चैत, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २ हजार ७९ कायम भएको छ । यस दिन शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. १८९ ले बढेको हो ।
गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको हालसम्म ३३ दिन कारोबार भएको छ ।
३३ दिनको कारोबार अवधिसम्म निरन्तर कम्पनीको शेयरमूल्य बढेको हो । दोस्रो बजारमा कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढ्दै आएको हो ।
बिहीवार सर्वाधिक माग रहेको कम्पनीमध्य चौथो नम्बरमा रहेको उक्त कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । साढे ३ घण्टाको कारोबार अवधिसम्म ३ लाख २२ हजार २५३ कित्ता शेयर खरीद माग रहेको छ । विक्रीकर्ता भने देखिएका छैनन् ।
माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।