२१ चैत, उदयपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आवस्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन तयार रहेको बताएका छन् ।
उदयपुरको गाइघाटमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा महामन्त्री कोइरालाले मुलुकको पछिल्लो अन्यौलता तथा विद्यमान राजनीतिक समस्या समाधानका लागि नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन तयार रहेको बताएका हुन् ।
उनले नेकपा फुटेर एमाले र माओवादी झगडामा लागेपछि देशमा राजनीतिक संकट सँगै सरकार पनि संकटमा परेको बतउँदै यस्तो अवस्थामा कांग्रेसले मात्रै देशलाई निकास दिन सक्ने दावी समेत गरेका थिए ।
‘पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु¥याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ’, महामन्त्री कोइरालाले भने ।
महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने समेत बताए ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन पनि नगर्ने र सरकारमा पनि नजाने बताउँदै आएको नेपाली कांग्रेसले पछिल्ला केहि दिनयता माओवादी र राजपाले ओली सरकारलाई आफ्नो समर्थन छैन भन्ने तर औपचारिक रुपमा समर्थन फिर्ता लिएको घोषणा नगर्दा थप राजनीतिक जटिलता बढ्दै गएको बताउँदै आएको छ ।
त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी र राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गरेमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने पनि बताउँदै आएका छन् ।
वि.सं.२०७७ चैत २१ शनिवार २०:२६ मा प्रकाशित






























