२३ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।
नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको आइतबारको बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको थियो ।
माधव नेपाल–झलनाथ खनाल समूहका सांसदको समेत उपस्थितिमा बसेको संसदीय बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्।
एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन्। एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ।
एमालेका तीनमन्त्रीले राजिनामा दिएसँगै नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको नेतृत्वमा रहेको सरकार अल्पमतमा पर्ने भएको छ ।
प्रदेश सभामा एमालेबाट २० सांसद र माओवादी केन्द्रबाट १३ सांसद रहेपनि सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् । उनलाई केन्द्रले कारबाही समेत गरिसकेको अवस्था छ ।
वि.सं.२०७७ चैत २३ सोमवार ०८:५० मा प्रकाशित






























