
२७ चैत्र, काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ ।
भारत आउजाउ गर्नेको चाप व्यवस्थान हुन नसक्दा, क्वारेन्टाइनहरु नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।
भारतबाट धेरै कामदार फर्केसँगै सुदुरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजको कान्तिपुर दैनिकबाट ।