२ बैशाख, काठमाडौं । नेपाल सरकारका वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुने गरेको समाचार सार्वजनिक भएको छ ।
समाचारमा भनिएको छ ‘सरकारका एकजना वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुनाले राष्ट्रिय राजनीतिमा भित्र भित्रै केही नयाँ कुरा पाक्न लागेको हो कि भन्ने छनक मिलेको छ ।’ को समाचार त्यत्तिकै र सामान्य रुपमा प्रकाशित भएको मान्न मिल्दैन । कहिलेकाँही असाध्यै समन्वयकारी चरित्र देखाउन सक्ने, कहिलेकाँही छुच्चो व्यहोरा पनि प्रदर्शन गरिदिने स्वभावका नेकपाका पूर्व महासचिव तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल जो प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्, उनैको बारेमा राति राति वेपत्ता भएको समाचार बाहिर आएको हो ।
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार घटना अघिल्लो सोमबारको हो । सो दिन साँझ ८ बजे सरकारी निवास पुल्चोक भित्रिएका पौडेल २५ मिनेटपछि रातो रंगको र्याभफोर गाडीमा लामो र कालो ओभरकोट लगाएर बाहिर निस्के । सुरक्षाकर्मीलाई साथै नलिएको मात्र होइन आँखा छलेर बेपत्ता भएपछि वातावरणमा मौन हंगामा भएको थियो ।
प्रचण्डसँग पार्टी एकता गर्दा होस् वा माधव नेपालसँग प्रस्ताव पुर्याउँदा होस्, उनी यसअघि बारम्बार बेपत्ता हुने गर्दथे । उनको यस्तो गोप्य भेटघाट को सँग र किन थियो भन्ने कुरा समाचारमा नखुले पनि केही प्रभाव र परीणाम आउने हुन कि भन्ने अनुमान भने गरिएको छ ।