वैशाख ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकै मनमौजी छन् । उनले हरेक निर्णय सरोकार भएका पक्षलाई समेत पत्तो नदिई गर्ने गर्दछन् । जसको श्रृखंलामा पछिल्लो संसद अधिवेशन अन्त्यको निर्णय भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघिको प्रचलनअनुसार सामान्य परामर्शसमेत नगरी अधिवेशन अन्त्य गरिदिएका छन् । सभामुखले सोमबार सञ्चारकर्मीसँग गरेको कुराकानीअनुसार अधिवेशन अन्त्यबारे प्रधानमन्त्रीले कुनै सल्लाह गरेका थिएनन् ।
‘संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा मसँग कुनै सल्लाह भएको थिएन,’ अधिवेशन अन्त्यको निर्णय पछि सञ्चारकर्मीसँग उनले भनेका छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चालु अधिवेशन अन्त्यको लागि सिफारिस गरेको थियो । जसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
परामर्श गर्ने प्रचलन
संविधानमा संसद अधिवेशन सुरु गर्ने वा अन्त्य गर्ने विषयमा सभामुख वा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्ने कुनै प्रावधान छैन् । मन्त्रिपरिषदको सिफारिसमा जसको निर्णय राष्ट्रपतिबाट हुने गर्दछ ।
तथापी हालसम्मको प्रचलनमा संसद अधिवेशन सुरु वा अन्त्य गर्ने विषयमा सभामुख वा राष्ट्रियसभा अध्यक्षसँग परामर्श लिने परिपाटी छ । तर, प्रधानमन्त्री ओलीले भने उक्त परिपाटीलाई वेवास्ता गर्दै गएका छन् ।
उनले अधिवेशन सुरु वा अन्त्य गर्नेबारे सामान्यतया सम्बन्धितलाई पत्तो समेत नदिई गर्ने गरेका छन् । परामर्श विनै अधिवेशन अन्त्य गरिएको कारण यसअघि तय भएको कार्यसूचीअनुसार मंगलबार संसद अधिवेशन बोलाइएको थियो । र सभामुख बैठकको तयारीमा जुटेका थिए ।
अविश्वासको प्रस्ताव ल्याउने तयारी भएसँगै अधिवेशन अन्त्य
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री ओलीविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको थियो । दलहरुबीच जसबारेको छलफल अन्तिम चरणमा पुगिरहेको थियो ।
माओवादी केन्द्रले पनि मंगलबार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने आधिकारिक निर्णय लिखित रुपमा बुझाउने तयारीमा थियो । अविश्वास प्रस्ताव नआएको खण्डमा पनि विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्ने ओलीले अकस्मात अधिवेशन अन्त्यको निर्णय गरिदिएका हुन् ।
सम्बन्धित समाचार
वि.सं.२०७८ वैशाख ६ सोमवार १४:४९ मा प्रकाशित






























