back

नेपाल कम्युनिष्ट आन्दोलनमा देखा परेका भ्रम र त्यसको निराकरण

वि.सं.२०७८ वैशाख ९ बिहीवार

528 

shares
GLOBAL IME AD
NTC AD

आज नेपालमा कम्युनिष्ट आन्दोलनको निर्माणलाई लिई जति व्यापक चर्चा छ — त्यति पार्टीको २२ वर्षको इतिहासमा कहिले पनि भएको थिएन । पहिले यस विषयमा पार्टीका केही शीर्षथ नेताहरूले मात्र चिन्तन गर्दथे तर आज आम पार्टी साथी तथा चेतनशील जनताले पनि यस विषयमा सोच विचार गर्न थालेका छन् । पार्टीको जन्म हुँदा गर्भमा रहेका वा केटाकेटी अवस्थामा रहेका आजका युवा पिढीले यस विषयमा अति चाख लिएको देखिन्छ । यसले गर्दा पुरानो पिढीको अनुभवको आधारमा नयाँ पिढीको उत्साहले सही मार्ग पाउने छ । अतः यो अति राम्रो शुभ लक्षण हो । यस्तो व्यापक वाद–विवाद र व्यवहारको दौरानमा निर्माण हुने पार्टीको आधार नै सैद्धान्तिक, राजनीतिक र संगठनात्मक नीति हुनेछ । यस्तो पार्टीले नयाँ जनवादी क्रान्तिको नेतृत्व बहन गर्न सक्नेछ ।

यो आज सवैमा विदित भएको कुरा हो कि तेस्रो ऐतिहासिक सम्मेलन पछि पार्टीलाई पुनर्गठन गरी अगाडि बढाउने काममा हामीले सफलता प्राप्त गरेका छौं । एक निश्चित सिद्धान्त, कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धतिको आधारमा आज हाम्रो पार्टी राष्ट्रव्यापीरुपमा संगठित भै सकेको छ । देशको राजनीतिमा कम्युनिष्ट आन्दोलनलाई प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको रुपमा, आज हामी देखा पर्न आएका छौं । पार्टीको लुप्त प्राय भएको क्रान्तिकारी प्रतिमालाई पुनः स्थापना गर्न हामी सफल भएका छौं । फलतः पुराना साथी र नयाँ पिढी हामीतिर उत्तरोत्तर आकर्षित हुन थालेका छन् । कम्युनिष्ट आन्दोलनमा देखा परेको तटस्थवाद, इलाकावाद, औसरवाद तथा सबै प्रकारका संशोधनवादलाई परास्त गरी आज देशमा कम्युनिष्ट आन्दोलन उत्तरोत्तर र संगठित भै संमृद्ध रुपमा अगाडि बढ्दो छ ।

यस्तो स्थितिमा स्वार्थी तत्वका साथै कम्युनिष्ट आन्दोलनमा देखा परेका केही वरिष्ठ व्यक्तिहरूले समेत पार्टीको इतिहासलाई तोडमोड गरी केही अनावश्यक प्रश्नहरूलाई उठाइदिँदा कम्युनिष्ट आन्दोलन र पार्टी निर्माणको सम्वन्धमा केही भ्रम–विशेष गरी नयाँ पिढीमा देखा पर्न आएको हुँदा –त्यस विषयमा स्पष्ट गर्नु आवश्यक भएको छ ।

कम्युनिष्ट आन्दोलनमा देखापरेको फूट सैद्धान्तिक तथा राजनीतिक नभै ब्यक्तिगत पद लोलुपताको निम्ति भनिन्छ । के यो साँचो हो ?
एकदमै होइन । यो प्रश्न आज न भै दोस्रो महाधिवेशन पछि रायमाझिहरूले प्रचार गरेका हुन् । यो सबैमा विदित भएको कुरा हो कि दोस्रो महाधिवेशनमा राजाको वर्गीय चरित्र, राजतन्त्र र संविधान सभाको चुनावको प्रश्नलाई लिई व्यापक छलफल भएको थियो । त्यस बखत रायमाझीहरूले पार्टीको नेतृत्वमा उठेको किसान आन्दोलनको विरोध गरी देशमा वैधानिक राजतन्त्रको स्थापनाको उद्देश्य र संविधान सभाको प्रश्नलाई तिलाञ्जली दिई संसदको चुनावको वकालत गरेका थिए । उनीहरूको यस मतलाई अत्यधिक बहुमतले परास्त गरी गणतन्त्र पार्टी कार्यक्रममा घोषणा गर्ने र तत्काल संविधानसभाको प्रश्नलाई लिई पार्टीले एक्लै भए तापनि जनआन्दोलन गर्ने नीति पास भए पछि – आम कार्यकर्ताहरूमा भ्रम फैलाउनको निम्ति पार्टीभित्र उत्पन्न भएको यस विवादलाई ब्यक्तिगत पदलोलुपता भनी गलत रुपमा प्रचार गरी महाधिवेशनको फैसलाको विपरीत आफ्नो गुट कायम गर्न थाले । उनीहरूको यस गलत प्रचारले पार्टीमा नराम्रो असर गर्न थाल्यो । तर, सत्र साल पौष १ गतेको काण्ड घटे पछि – उनीहरू शाही गुप्तचर रहेछन् भन्ने कुरा कम्युनिष्ट आन्दोलनमा स्पष्ट हुन गयो ।

पार्टीको तेस्रो महाधिवेशन पछि पनि यो प्रश्न फेरि सुस्तरी उठाइयो । पार्टीको तेस्रो महाधिवेशनमा हाम्रो कडा प्रतिरोधको वावजूद ‘राष्ट्रीय प्रजातन्त्र’ नामक संशोधनवादी कार्यक्रम पास भएको हो । तर, पछि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा यो कार्यक्रम संशोधनवादी भन्ने बोध भएपछि राष्ट्रीय प्रजातन्त्रका प्रवर्तक व्यक्तिहरू, विशेषगरी पूर्व कोशीका व्यक्तिहरूले यो भ्रम दिन थालेका हुन् । स्पष्ट छ –आज यी व्यक्तिहरू पूर्व कोशीमा पंचायती व्यवस्थाको मात्र होइन , प्रशासन यन्त्रका प्रवक्ताको रुपमा देखा पर्न आएका छन् ।

यही प्रश्नलाई आज फेरि केही बरिष्ठ साथीहरूले उठाउन थालेका छन् । यस विषयमा अहिले केवल यत्तिमात्र भन्नु आवश्यक छ – एक स्पष्ट कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धतिको आधारमा प्रवेश नगरी इलाकीय आधारमा त्यसमा पनि एक राष्ट्रव्यापी कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धति बिना एक गुटको रुपमा काम गर्दैछन् भने नेतृत्वको भोक वहाँहरूलाई नै रहेछ भन्ने कुरा केटाकेटीले पनि बुझ्न सक्छ ।
यस विषयमा युवा पिढीमा देखा परेको एक गलत रुझान प्रति म उहाँहरूको ध्यानआकर्षित गर्न चाहन्छु । मसंग भेटन आउने युवा पिढीका केही साथीहरू अन्तर्राष्ट्रीय विवादमा आफ्नो मत सजिलैसंग संशोधनवादको विरुद्ध व्यक्त गर्दछन् । तर, हामी तटस्थ भएका छौं भन्दछन् । जुन व्यक्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा बुझी आफ्नो पक्ष लिंदै छन् भने के उनै व्यक्तिले झन आफ्नो राष्ट्रिय क्षेत्रमा उठेको विवाद बुझ्न सकिएन भन्नु ठीक पर्ला ? अवश्य बुझ्न सक्दछन् र बुझ्न पनि परेको छ । सब भन्दा पहिले उनीहरूले यो बुझ्न पर्दछ कि माक्र्सवाद समाज विकासको नियम हो । आज नेपाली समाजको विकासको निम्ति राजा द्वारा नेतृत्व गरिएको सामन्ती अधिनायकवादी पंचायती व्यवस्थालाई नष्ट गर्नु अति आवश्यक छ । यो नै आज समस्त प्रगतिशील नेपाली वर्ग तथा वर्गसमुदायको मुख्य दुस्मन र देश विकासको निम्ति तगारो भएको छ । अतः यस पंचायती व्यवस्थाको विरोधमा संघर्ष गर्ने कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धति उनीहरूसंग छ ? जसले नेपाल कम्युनिष्ट आन्दोलनमा भ्रम पैदा गर्छन्, निश्चय नै छैन । कम्युनिष्टहरूको मुख्य कर्तव्यनै समाज विकासको निम्ति तगारोको रुपमा देखा पर्न आएको राजनीतिक तथा सामाजिक शक्तिको विरुद्ध जनसंघर्षको पथ–प्रदर्शन गर्ने सिद्धान्त (Guide to action) हो आज यो स्पष्ट हुँदैछ कि ती व्यक्तिहरूले माझीको पालादेखि सुरु गरिएको थोत्रो विचार गरी आ–आफ्नो पंचायतवादी राजनीति र सामन्ती समाजलाई नै टेवा दिने काम गर्दैछन् । उनीहरूले देशमा माक्र्सवादलाई उल्टो किसिमले लागू गर्ने (Lead to action) कुचेष्टा गर्दै छन् । वास्तवमा माझीदेखि अहिलेसम्मका साथीहरूको यस प्रचारले देशको सामन्ती शक्तिलाई आफ्नो वर्गीय चरित्र लुकाउन वल पुर्याएको छ । यस कुरालाई युवा पिढीले बुझ्न आवश्यक छ । आफ्नो अमूल्य समय अब खेर फाल्नु हुँदैन ।

नेतृत्वको लोभको प्रमाण स्वरुप उनीहरूले प्रचारमा ल्याएको दोस्रो बुँदा हो – हतारिएर तेस्रो ऐतिहासिक सम्मेलन गर्नु, के यो साँचो हो ?
एकदम होइन । उनीहरूको यस प्रचारबाट नै यो सावित हुन्छ कि सम्मेलन गर्नु त आवश्यक थियो ,तर ‘हतारिएर’ गर्नु हुँदैन थियो । तेस्रो महाधिवेशनको दौरान र त्यसपछि पनि पार्टीमा एकता कायम गर्न महाधिवेशनद्वारा हल गर्ने जुन यत्न हामीहरूले गर्यौ त्यसको यथार्थ बोध न हुने साथीलाई यस विषयमा केही भ्रम हुनु स्वभाविकै कुरा हो । त्यस्ता साथीहरूले तेस्रो महाधिवेशनदेखि यताको पार्टीको गतिविधि पहिले बुझ्नु आवश्यक हुन्छ । यस आवश्यक कुरा प्रति ध्यान नदिई तेस्रो महाधिवेशनदेखि नै पार्टीलाई तोडमोड गर्ने पूर्वका ठिटाहरूको लहैलहैमा लागि यो प्रचार गर्दछन् भने यसमा के हो त्यस्तो रहस्य अवश्य छ, जसको सबभन्दा बढी जानकारी उनीहरूलाई नै होला । अहिले यति भन्नु म आवश्यक ठान्दछु–उनीहरूको भनाई अवसरवादी भएको छ ।

हामीले जुन तेस्रो ऐतिहासिक सम्मेलन गर्यौ – सो हतारिएर होइन; बरु भन्नु पर्दछ अवेर गरेर गर्यौं । पार्टी–एकता कायम गर्नको निम्ति हामीहरूले मार्क्सवादी सिद्धान्त अनुसार जे जति गर्नुपर्ने कर्तव्य थियो — सो सबै अति नै धैर्य साथ गर्दा पनि अन्तमा केही विकल्प नहुँदा तेस्रो ऐतिहासिक सम्मेलन गर्नु परेको हो । तेस्रो ऐतिहासिक सम्मेलनद्वारा पारित रिपोर्टका केही पंक्तिहरूले यस कुरालाई स्पष्ट गर्नेछ ।
तेस्रो पार्टी महाधिवेशनले अपनाएको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र कार्यनीति दुबै हाम्रो कडा प्रतोरोधको वाबजूद पास भएका हुन् । यसबाट स्पष्ट हुन्छ कि तेस्रो महाधिवेशमा हामी अल्पमत थियौ । पार्टीभित्र अल्पमतले जे जस्तो कर्तव्य गर्नु पर्दथ्यो सो सबै हामीले पालन गर्यौं । बहुमतको फैसलालाई पार्टीको फैसला मानी त्यसलाई शिरोपर गरी माक्र्सवादी लेनिवादी पद्धति अनुसार समाधान गर्ने प्रण गर्यौं । नयाँ जनवादी कार्यक्रम सही छ भन्ने कुरामा हामीलाई विश्वास थियो । पार्टी पद्धतिमा विश्वास राखी काम गरेमा सबै साथीहरूमा निश्चय नै हाम्रो विचारधारा स्पष्ट हुनेछ भन्ने कुरामा पनि हामीलाई विश्वास थियो । वास्तवमा हुन पनि यही भयो । पार्टीको तेस्रो कार्यकारिणीको बैठकमा पुग्दा यो कुरा स्पष्ट हुन आयो । उक्त विस्तारित बैठक पार्टी महाधिवेशनले पास गरेको कार्यक्रम र कार्यनीति दुबै गलत हुन भन्ने निष्कर्षमा पुग्यो । त्यसपछि एकैमतले तत्कालिन राजनीति प्रस्ताव र तीन महिने संगठनात्मक प्रस्ताव पास भयो । तेस्रो विस्तारित बैठकको फैसला तेस्रो महाधिवेशनमा हुन गएको गल्तिहरूलाई सुधार्ने दिशातिर एक महत्वपूर्ण कदम थियो ।

यो कुरा स्पष्ट छ । अब यसरी नै पार्टी पद्धति अनुसार पार्टीको विकास भएर गएमा उनीहरू अल्पमतमा पर्ने निश्चित प्राय भएको हुँदा तुल्सीलाल तथा अन्य केही व्यक्तिहरूले तेस्रो विस्तारित बैठकको फैसलालाई त्यसरी नै सराप्न थाले जसरी हरूवा झगडियाले न्यायाधीशलाई सराप्दछ । यसबाट पनि सबैमा यो विधित हुन पर्दछ कि भित्री पार्टी संघर्ष व्यक्तिगत कुरामा आधारित नभै सैद्धान्तिक, राजनीतिक र संगठनात्मक प्रश्नहरूमा आधारित छ । उनीहरूले पार्टी साथीहरूलाई सैद्धान्तिक, राजनीतिक र संगठनात्मक प्रश्नहरूमा चित्त बुझाउन न सकेपछि भ्रम फैलाउन चेष्टा गर्न थाले र बैठकहरूलाई भरसक हुन नदिने र भएमा नानाथरिका अडंगा डाली सफल हुन नदिने नीति अपनाउन थाले । उनीहरूले चतुर्थ विस्तारित बैठकमा नै तेस्रो विस्तारित बैठकको फैसलालाई रद्द गर्ने कुचेष्टा गरेका थिए । तर, त्यसमा सफल भएनन् । परन्तु पाँचौं केन्द्रीय समितिको बैठकमा सफल भए । त्यसपछि पनि हामीले पार्टीको नेतृत्वदायी समिति राष्ट्रिय परिषद तथा जिल्ला समितिका प्रतिनिधि समेत् सामेल भएको बैठक गरी पार्टी संकट समाधान गर्ने नीति अपनायौं, तर यो कुरा पनि उनीहरूलाई मान्य हुन सकेन । सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक प्रश्नहरूलाई लिएर केन्द्रमा उत्पन्न भएको विवादलाई व्यक्तिगत नेतृत्वको निम्ति भएको झगडाको रुपमा पेश गरियो । संशोधनवाद तथा अवसरवादीहरूले यसरी पार्टीको नियम, तौर तरिका, विधी, विधान,परम्परा आदिको विपरीत पार्टीलाई विसर्जनको बाटोमा पुर्याउन लागेको देखेर पार्टीलाई विसर्जनबाट रोक्नको निम्ति हाम्रो समक्ष तेस्रो ऐतिहासिक सम्मेलन गर्नु भन्दा अर्को विकल्प केही थिएन ।

यो कुरा सबैमा विदित हुन पर्दछ कि तेस्रो महाधिवेशन पछि पार्टीको केन्द्रीय नेतृत्व विघटनको स्थितिमा पुग्दा देशको कम्युनिष्ट आन्दोलनमा विघटन आई इलाकीय आधारमा पुग्दा त्यसमा पनि विभिन्न गुट उपगुट देखा पर्दा कम्युनिष्ट आन्दोलनलाई एक स्पष्ट कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धतिको आधारमा केन्द्रीय करण गर्नु एक ऐतिहासिक आवश्यकता थियो —त्यस आवश्यकताको पूर्ति गर्ने काम तेस्रो ऐतिहासिक सम्मेलनले गरेको छ । अतः हतारिएर सम्मेलन गर्यो भन्ने आरोप गलत हो भन्ने कुरा स्वतः सिद्ध हुन्छ । प्रश्न यो हुनु हुँदैन —सम्मेलन हतारिएर भयो अथवा भएन । मुख्य कुरा हो – सम्मेलनले पास गरेको कार्यक्रम आदि दस्तावेज के हुन् ? ठीक छन् अथवा छैनन् ?  सत्य कुरा यो हुँदा हुँदै पनि कसैमा ‘हतारिएर’ गरेको भन्ने धारणा छ भने पनि सो अत्तो थाप्ने विषय न भएर भित्री पार्टी छलफलको विषय हुन जान्छ ।

‘हतारिएर’.सम्मेलन गर्यो भन्ने तर्क आज सुन्दा पार्टी स्थापनको तरखर गर्दा (२००६ आश्विन) केही साथीहरुले नेपालमा कम्युनिष्ट पार्टी गठन गर्ने वेला भएको छैन । हतारिएको कदम (Hasty step) हुनेछ भन्ने कुरा याद आउछ । नेपाली कम्युनिष्टहरूले नेपाली काँग्रेसको वामपन्थी दलको रुपमा काम गर्नु पर्दछ भन्ने सल्लाह ती साथीहरूको थियो । आफ्नो तर्कको समर्थनमा सन् १९२४ मा स्टालिनले मरोक्कोका कम्युनिष्टहरूलाई दिएको राय पनि उपस्थित गरेका थिए । पच्चिस वर्षको भित्रमा बदलिएको अन्तर्राष्ट्रिय स्थितिमा निश्चय नै थियो त्यस उनीहरूको राय हाम्रो देशमा लागू हुन नसक्ने थियो । अतःः १५ सितम्वर, १९४९ मा पार्टी स्थापना भयो । त्यसको केही वर्षपछि स्तालिनको अन्तिम सन्देश —आजको युगमा पूँजीवादी पार्टीहरूले सम्पूर्ण रुपले राष्ट्रिय स्वाधिनताको झण्डा झुकाइ सकेको हुनाले मजदूर वर्गको पार्टी (कम्युनिष्ट पार्टीले उक्त झण्डा उठाउनु पर्दछ) ले हाम्रो कदम सही छ भन्ने सावित गर्यो । पछि पार्टीले राष्ट्रीयता र प्रजातन्त्रको सवाललाई एक अर्कोबाट अभिन्न मानी पार्टी व्यवहारमा जान थालेपछि यो कुरा झन सत्य सावित भयो । तर पछि सरकारी मार पर्दा आज ‘हतारिएर ’ सम्मेलन गर्यो भन्ने साथीहरू मध्ये नै कसैले पुनः उक्त तर्क उठाई वास्तवमा हामीले पार्टी गठन नगरी नेपाली काँग्रेसभित्रै वामपन्थी दलको रुपमा काम गर्नुपर्ने नै रहेछ भन्ने तर्क फेरि उठाएका थिए । अतः यो तर्क नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै नयाँ कुरा होइन । केन्द्रीय पार्टी नष्ट भै इलाकीय आधारमा पनि विभिन्न गुट उपगुटमा विभक्त भै अत्यन्त भ्रम फैलिएको वेलामा तेस्रो ऐतिहासिक सम्मेलन भयो । यसले गर्दा समस्त क्रान्तिकारी कम्युनिष्टहरूले एउटै झण्डा, कार्यक्रम, कार्यनीति र संगठनात्मक पद्धतिको आधारमा संगठन गर्न सकेका छौं । पार्टीलाई विघटन गर्ने पार्टीभित्र र बाहिरका दुश्मनको कुचाललाई नष्ट गर्नसकेका छौं । यस कुरालाई आज सम्पूर्ण क्रान्तिकारीहरूले बुझ्न परेको छ ।

एक कुरा आज यहाँ म विशेष रुपले भन्न चाहन्छु — ती वरिष्ठ साथीहरू जसले ‘हतारिएर’ सम्मेलन गर्यो भन्ने आरोप लगाउछन् । उनीहरूको अगाडि विकल्प के छ ? स्पष्ट छ उनीहरू न त माझीलाई अगाल्न सक्दछन्, न त तुलसीलाललाई नै । उनीहरूको अगाडि या त सही मानेमा केन्द्रीय र राष्ट्रव्यापीरुपमा रहेका हामी छौं , या त केही गुट र उपगुट छन् । स्पष्ट छ, ती साथीहरू हामीहरूको विरुद्ध ती गुट उपगुट आज सामेल छन् । वरिष्ठ साथीहरूको कर्तव्य निश्चय नै यो होइन । हाम्रो पार्टीमा प्रवश गरी आ–आफ्नो अनुभवहरुलाई पार्टी कमिटीमा बसी आदान –प्रदान गरी चतुर्थ महाधिवेशन गर्नु नै कर्तव्य थियो । हामीलाई दुःख छ — ती साथीहरूले यो काम गरेनन् ।

क्रमशः
(नोट :यो लेख पुष्पलालले नेतृत्व गर्नु भएको ने.क.पा. को बुलेटिन नं. ४ नयाँ जनवाद ‘पार्टी सदस्यको लागि’ मई – जुन १९७१ बाट साभार गरिएको हो ।) — पुष्पलाल अध्ययन समाज

वि.सं.२०७८ वैशाख ९ बिहीवार १४:३० मा प्रकाशित

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु क्षेत्रीय र बहु...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

काठमाडौँ । धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो ।...

योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि

काठमाडौँ । योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो...

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास...