वैशाख १५, काठमाडौं । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदान अन्तिम समय रोकिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क बिहिन बनेसँगै मतदान रोकिएको हो ।
सांसद शाही सम्पर्क विहिन बनेसँगै राष्ट्रिय जनमोर्चाले बैठक स्थगित गर्न अनुरोध गरेको थियो । जनमोर्चाको निवेदन बमोजिम नै प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गराएका हुन् ।
प्रदेशसभामा राजमोका ३ सांसद छन् । अविश्वासको प्रस्ताव पास गर्न राजमोको मत निर्णायक छ ।
कता हराए सांसद शाही ?
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले शाही बिरामी लेखेर सम्पर्क बिहिन भएको बताएका छन् । उनले शाहीको खोजी थालेको बताए । अध्यक्ष बरालले शाहीको सम्पर्क विहिनताले गडबडी संकेत गरेको बताए ।
‘उहाँ फेसबुकमा बिरामी लेखेर सम्पर्कबिहिन हुनुभएको छ । हामी खोजीमा लागेका छौं, थाहा हुनासाथ जानकारी गराउँछौं’, बरालले भने, ‘तर निकै गडबडीको संकेत देखिएको छ ।’
यता शाहीको सचिवालयले भने शाही बिरामी भएर सम्पर्क बिहिन भएको बताएको छ । प्रदेश सभा बैठक स्थगित भएसँगै एक विज्ञप्ती सार्वजनिक गर्दै शाहीको स्वीकय सचिव मिलन हमालले बुधबार दिउँसो अकस्मात शाही बिरामी भएको बताए । उनले शाही परिवारसँगै उपचाररत रहेको बताएका छन् ।
सम्बन्धित समाचार
सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने
वि.सं.२०७८ वैशाख १५ बुधवार १७:३७ मा प्रकाशित