
वैशाख १५, पोखरा । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची छ । तर मतदान गर्ने अन्तिम समय अंकगणितमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक प्रदेश सभा सदस्य सम्पर्क बिहिन बनेका छन् ।
राजमोका प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्क बिहिन बनेका हुन् । उनी सम्पर्क बिहिन बनेसँगै प्रदेशसभामा अहिले खैलाबैला मच्चिएको छ ।
अहिले शाहीको मोबाइल अफ छ ।
मतदान गर्ने समयसम्म शाही उपस्थित नभए अविश्वासको प्रस्ताव असफल हुने सम्भावनाा छ । अविश्वास प्रस्ताव पास हुन ३१ सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।
अविश्वास प्रस्ताव ल्याएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सँग २८ सांसद मात्रै छन् । तीन सांसद भएको राजमोले समर्थन गरेको थियो । तर, अन्तिम समय राजमोको अनुपस्थितिसँगै प्रस्तावको पक्षमा ३० मत मात्रै पुग्दछ ।