( १ )
सम्पत्तिहुन्जेल मीठो मसिनो खानाको भोगी बनायो
बसीबसी खाने बानीले प्रेसर र सुगरको रोगी बनायो
बूढेसकालमा कोरोनाले अचानक आक्रमण गरेपछि ,
ज्यान त बच्यो तर परिवारलाई ऋणले जोगी बनायो ।
( २ )
अझै पनि कोरोनालाई ख्याल ख्याल ठानेका छन
बुझेर होला कि न बुझेर खिसिटिउरी हानेका छन
जो जो अकालमा मर्नेहरू संसारबाट ओझेल परे
मृत्युुलाई जितेर आएकाले राम्रोसँग जानेका छन ।
( ३ )
छ्लकपट गरेर सरकार बनाउनुको मजा बेग्लै हुन्छ
नाजायज माग पूरा गरेर मनाउनुको मजा बेग्लै हुन्छ
बाहिर जतिसुकै आदर्शको कुरा गर्दै हिड तिम्रो खुसी
सडेको सिनुझैं ठसठसी गनाउनुको मजा बेग्लै हुन्छ ।
( ४ )
सुनसान देखिन्छ गाउँ बस्ती सहरहरू
किन एकाएक मर्दैछ मान्छेका रहरहरू
के सुनाऊ परदेशी तिमीलाई मेरो खबर ,
देशमा भयावह छ कोरोनाका कहरहरू ।
( ५ )
यो महामारीमा मरिन्छ कि बाँचिन्छ थाह छैन आमा
कहिल्यै नपुग्ने धनको थुप्रो कमाउने चाह छैन आमा
लोभी पापीहरूले भ्रष्टाचार गरेर दरबार खडा गरून्
तर मलाई कसैको उन्नतिमा एकरत्ति डाह छैन आमा ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०८:५८ मा प्रकाशित






























