जेठ ११, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई पूर्वसभामुखहरुले असंवैधानिक भनेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सबै पूर्वसभामुखले संसद विघटन असंवैधानिक भएको बताए ।
पूर्वसभामुखहरुले छिटोभन्दा छिटो संसद पुनःस्थापना हुने पनि विश्वास व्यक्त गरेका छन् । छलफलमा आफ्नो धारणा राख्दै कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले संसदलाई विघटन गरेर सरकारले जनताको मतको अपमान गरेको बताए । उनले सरकारको कदम अदालतले सच्याउनु पर्ने धारणा राखे ।
पूर्वसभामुख कृष्णबहादुर महराले रक्षक सरकार नै भक्षक बनेको टिप्पणी गरे । उनले जनमतको सम्मान गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने बताए । महराले प्रधानमन्त्रीमा लोकतन्त्रप्रति निकै अनुदारवादी सोंच रहेको पनि बताए ।
छलफलमा आफ्ना धारणा राख्दै पूर्वसभामुख ओनसरी घर्तीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतालाई हेर्दै अदालतले पनि निर्णय दिनुपर्ने बताइन् । उनले सरकारबाट निकै गैरजिम्मेवार ढंगले कदमहरु चालिएको टिप्पणी गरिन् ।
धारा १०३ अन्तर्गत तयार रहन सुझाब
छलफलमा पूर्वसभामुखहरुले संसद विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापना हुने विश्वास राखेका छन् । पूर्वसभामुखहरुले सभामुख सापकोटालाई धारा १०३ अनुसार विशेषाधिकार प्रयोग गर्ने कुरामा पनि सुझाब दिएका छन् ।
संविधानको धारा १०३ मा सभामुखको विशेषाधिकार हुने उल्लेख छ । यसअघि कानून व्यवसायीले पनि सभामुखलाई धारा १०३ अन्तर्गत तयार रहन सुझाब दिएका थिए ।
छलफलमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबाहेक सबैजसो पूर्वसभामुखहरु सहभागि थिए । छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सशरीर उपस्थित छन् भने दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल माध्यमबाट उपस्थित थिए ।
सम्बन्धित समाचार
सभामुख सापकोटाले बोलाएको छलफल कार्यक्रमलाई नेम्वाङले गरे बहिस्कार
संसद बैठक बोलाउन कानूनविद्हरुको सुझाब : परामर्श लिन सभामुख सापकोटाले बोलाए पूर्वसभामुखहरुलाई
वि.सं.२०७८ जेठ ११ मंगलवार १७:२४ मा प्रकाशित






























