सभ्यताको
यति विवश
यति बीभत्स र
यति कायर अनुहार मैले
यसअघि कैले देखेको थिइनँ ।
तिम्रो नाकमा
बारुदभन्दा मीठो सुगन्ध
अरू केही भ्एन
तिम्रो विश्वासमा
गोलीभन्दा अचूक औषधी
अरु केही भएन
तिम्रो दृष्टिमा
समवेदनाभन्दा गतिलो शिकार
अरु केही भएन
तिम्रो मनमा
मिसाइलभन्दा महङ्गो सम्पत्ति
अरु केही भएन ।
नदी
फोहोरहरु बोकेर
निरन्तर दगुरिहिड्ने
एउटा राजमार्ग मात्र भयो
जो सकिनसकि
तिमीले फ्याँकेका
कसिङ्गरहरूको भेल बोकेर
हिजोआज समुद्र यात्रामा छ ।
अनि
समुद्रहरू लाचार छन्
डस्टबिनको नयाँ अवतारमा ।
खाडलहरू जति छन्
तिमीले खनेका
विषहरू जति छन्
तिमीले उगलेका
तिम्रै खेत, तिम्रै खेती
तिम्रै कारखाना, तिम्रै उत्पादन
यहाँ जेजति छन् सबै तिम्रै हुन्
जस्तो कि म
म
न जीव हूँ
न निर्जीव हूँ
तर तिमीले नै छरेका बीऊ हूँ ।
बादलहरू उड्न सकिरहेका छैनन्
धुवाँका
विषालु र धारिला हतियारले
पखेटा काटिएर ।
च्यात्तिसकेको
हिउँको मैलो बर्कीमा
हिमाल पनि अचेल
खिनौटे र रोगी देखिन्छ ।
हवाइजहाजहरूले
गिद्धको उडान भर्ने भो
पानीजहाजहरु रगतमा तैरिने भो
न जङ्गल रह्यो
न शहर
यो ठाउँ
जनावरहरूजस्तैको एउटा गाउँ भयो ।
ईश्वरहरू
कि त मानवबममा चडेर उडे
कि त मव लिन्चिङमा परेर मरे
कि त विज्ञापनको पासोमा फँसिएर
आफ्नो अन्तिम दिनहरू गनेर सडे ।
खाडलहरू जति छन्
तिमीले खनेका
विषहरू जति छन्
तिमीले उगलेका
तिम्रै खेत, तिम्रै खेती
तिम्रै कारखाना, तिम्रै उत्पादन
यहाँ जेजति छन् सबै तिम्रै हुन्
जस्तो कि म
म
न जीव हूँ
न निर्जीव हूँ
तर तिमीले नै छरेका बीऊ हूँ ।
म
तिम्रो अहङ्कारको सङ्क्रमण रोक्नलाई आविष्कृत
तिम्रै रगतबाट निर्मित म एक भ्याक्सिन हूँ
तिम्रो बलात्कारको हिसाब चुकाउनलाई
जन्मेको तिम्रै बतासे सन्तान हूँ
संवेदनहीनताको तिम्रो क्रुर जुलुस छेक्नलाई
उभिएको एउटा जाबो पर्खाल हूँ
यसै त म कमजोर छु
एक खुराक कोरेन्टिनले सड्न सक्छु
एक साधारण डिटरजेन्टले म मर्न सक्छु
एक थोपा सेनिटाइजरले मेटिनसक्छु
छुवाछुतको तिम्रै कुसंस्कारले म हट्न सक्छु
यति कमजोर छु तर डरपोक छुइनँ
एक हात तिमीसँग जुझ्ने रहर छ
एक ज्यान
तिमीसँग पौठेजोरी खेल्ने इच्छा छ ।
आउनुपर्ने थियो र मात्र आएको हूँ
लड्नैपर्ने थियो र मात्र लडेको हूँ
नत्र त म तिम्रो एक नाथे मात्र हूँ
गालीको एक अभद्र शब्द मात्र हूँ
जीवनको आदिम सूत्र भएर के भो र म
जीवनदेखि विरक्त करूणाहीन
म त एक कोरोना हूँ ।
तिमी महासमरको कुरा गरिबस्थ्यौ
तिमी एकछत्र राजबारे सोचिबस्थ्यौ
आऊ !
एउटा युद्ध लड मसित
विश्व युद्ध
एउटा अपूर्व मौका छ तिमीसित
मलाई हराऊ र विश्वविजेता बन
ए सभ्यता!
ए विज्ञान!!
ए मान्छे!!!
वि.सं.२०७८ असार १२ शनिवार ०७:४४ मा प्रकाशित






























