चोरेँ, ठगेँ, छलेँ ज्यादा गरेँ पास सबै तह
भौतिक भूतका स्वप्न बाली लाएँ लहालह !
घुसेँ चाप्लुसका हात चलाई गुरु बन्न म
व्याधाझैँ स्वार्थका आँत के गुरु हुँ र भन्छु म !!
सित्नै गर्नु परे काम व्यस्त छु भनी दिन्छु म
उता पेन्सनका पोया बाट्नमै अलमस्त म !
पाए ट्युशन दौडन्छु पैसामै मदमस्त म
नीचताको महास्वार्थी के गुरु हुन सक्छु म !!
पाठशाला विना पैसा यता सञ्जाल लोभ म
नाम दर्ता गरेकै छु काम के गर्न पुग्छु म !
नाम चल्छ यता,पैसा उता झर्दछ हिड्छु म
यस्तो स्वार्थी छु पाखण्डी के गुरु हुन सक्छु म ??
व्यापारका उता रन्का नाफा झर्छन् धमाधम
बुझाइ भित्रको ज्ञान रटान मात्रमा छु म !
रटेका शब्द छन् छैनन् ओके गर्दिन नत्र म
अल्पज्ञानी घमण्डी छु के गुरु बन्न सक्छु म !!
खान्छु जागीर दैनिक लिन्छु पैसा सके जति
दिन्छु ज्यादै लिएभन्दा कञ्जुस कम हो कति ?
तर नाम चलोस् भन्दै तपाइसँग नै छु म
यस्तो लाचारको मान्छे के गुरु बन्न सक्छु म ??
हेर्छु सामु छ यो वृक्ष जल्ले जे खोज्छ दिन्छ ऊ
रात होस् दिन होस् सारा समर्पित रहन्छ ऊ !
निस्वार्थको चुली यस्तो भए पो हुन सक्छु म
सच्चा गुरु,भएँ स्वार्थी यस्तो के गुरु हुन्छु म ??
यो बना ऊ बना भन्दै जो जान्दैन उतैतिर
औँला उचालदै टिप्छु स्वार्थका भाग आखिर !
जान्ने भए यता आई सिक्थ्यो ऊ ज्ञान खै छु म
यस्तो नादान अज्ञानी के गुरु हुन सक्छु म ??
छन्द: अनुष्टुप
वि.सं.२०७८ साउन १६ शनिवार ०६:५१ मा प्रकाशित






























