१८ साउन, काठमाडौं । ईजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको आरोपमा डाक्टर सहीत तीन पक्राउ परेका छन् ।
भारत घर भई काठमाडौें बस्ने ३१ वर्षीय सौरभ कुमारलाई चावहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट प्रहरीले पक्राउ गरेको हो । यस्तै, उनलाई सहयोग गरेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–३ घर भई चाबहिल बस्ने ४० वर्षीय डा.रावेत रञ्जन कुमार ठाकुर र दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई काठमाडौें बस्ने उक्त प्रालिका संचालक ४६ वर्षीय राधा कृष्ण तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रालिमा चिकित्सा सम्बन्धी काम गर्ने कानूनी ईजाजत पत्र प्राप्त नगरेका भारतीय नागरीकले चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेक जाँच तथा सर्जरी कार्यमा समेत संलग्न रहेको जानकारी पाए पछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र नेपाल मेडिकल काउन्सिल बाट खटिएको टोलीले सौरभलाई ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको उपचार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून अनुसार कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १५:४४ मा प्रकाशित






























