स्वाधिनताको गर्वमा फुलेको छाति बेलाबेला ढक ढक गथ्र्यो । वीरताको जोसिलो रगत जुरूक्क उम्लन्थ्यो । कल्पनाको छोर पुगेर दुनियाका खुट्टा हवाई उडानका साथ पुर्खाको बलशाली बेगले गौरव लाग्थ्यो ।
‘महान, वीर नेपाली !’
पामरहरूको सम्मेलन चलिरहेको थियो । उनीहरू गौरव गाथा बिक्रि गर्नका लागि हिप्पीहरूसँग खुसामत गरिरहेका थिए । एक पामरले भ्याटिकनको पुच्छर समातेर गोदान गर्दै सबाल गर्याे ।
‘सालिकबाट त आँसु झर्याे रे !’
‘स्वाँठहरू ! निर्जीव सालिकबाट पनि आँसु झर्छ ?’
पामरहरू चैं नाफा खोरीका लागि दलाली गरिरहेका थिए तर दर्शकहरू भने अत्तो थापेर कराए ।
‘मातृभूमिको रक्षा गर !’
दुखित मानिसका मनलाई धारिलो तरवार, चम्किलो खुकुरी, नाङ्ला जत्रो ढाल र कम्मर मन्तिर फिलाछेउ कोखामा बल्छो भिरेका पृथ्वीनारायणले हाँक दिएर बैह्रीहरूलाई भने ।
‘स्वतन्त्र मुलुकमा फिरङ्गीले झगरा तगरा नगर !’
‘खिया लागेको तरवार चम्काएर तर्साउने को ?’
पामरहरूको हुइँया छुट्यो । स्याल,सिंह बनेर कराउन थाल्यो । पृथ्वीनारायणले युग सम्झे । युगका मान्छेका बेरितका स्वार्थी गनगनहरू पनि सुने र घोषणा गरे ।
‘अवतार परिवर्तन हुनेछ !’
पामरसँग मुलुक, जनता, स्वाभिमान, संस्कार, धर्म र परम्परा केही थिएन । जसरी हुन्छ ठुलो बङ्गाला, विकृत संस्कार, मन मौजी चरित्र प्रदर्शन गर्नु र बैह्रीको सेवामा निर्लिप्त हुनु नै परम कर्तव्य थियो । देश बेच्न नपाएको झोकमा उनीहरूले एकदिन पृथ्वीनारायणको सालिक ढालिदिए । छियाछिया समेत भयो । सालिक ढल्यो । मातृभूमिको ममता ढलेन । दुखित स्वरमा गोरखनाथलाई साक्षी राखेर उनले चिच्याए ।
‘दुखले आर्ज्याको मुलुक, कहिल्यै बेच्न दिने छैन !’
उनको प्राणसँग पाखा, पखेरू, पहरा र कन्दरा झ्याउँकिरीको स्वरहरू संलयित भएर गुन्जिरहेथ्यो ।
‘रगतले सिन्चेको माटोको माया !’
वि.सं.२०७८ साउन २३ शनिवार ०६:५२ मा प्रकाशित






























