स्वाभिमानको
सौन्दर्यमा
चम्कने आशाले
एकताबद्ध हुँदैछन्
स्वाधीनताका
सुमधुर स्वरहरु
अपनत्वको
झण्डा बोकेर
बलिदानीको निमित्त
समर्पित बनी
घामको लालित्य
कुरेर
बसिरहेका छन्
भातृत्व पुज्ने
हृदयका झङ्कारहरु
तप,त्याग र सन्धान
मुस्कुराउने
दिनको खोजीमा
पीडाले जन्माएको
एक थोपा आँसु पनि
गहमा राखिरहन
नसक्ने आँखामा
हजारौं सपना
सजिन आत्तुर छन्
पसिनाले बगर फुलेको
हेर्ने रहरले
चरचरी
चिरिएका पैतालामा
रक्त नदी बगिरहँदा पनि
चन्द्र सूर्य फहराउन
लालायित छन्
कर्मिष्ठहरु
बाँकी नै छ
फाटेका मन
र
भत्किएका भूगोल जोड्न
अनि
बुद्धुहरुलाई
बुद्ध बनाउन
छाउपडीहरुलाई
देवी बनाउन
कसले सिकाउँछ ?
पीडा कुल्चेर
मुस्कान फुलाउन
अनि
कसले सिकाउँछ ?
चिचिलाहरुलाई
भोलि बास्ने
बिहानीको प्रतीक्षा गर्न
र
विभेद माथि
धारिलो प्रहार गर्न
वसन्तमै
निखुर्किएको छ वन
पालुवा
पलाउन बाँकी छ
कर्तव्यको
कोपिला
लाग्नै बाँकी छ
प्रीतको
गृष्ममै
कठ्याङ्ग्रिएको छ मन
ममताको न्यानो
नपाएर
विपत्तिमा पर्दैछन्
शान्तिका भ्रुणहरु
राखेर गर्भमा सुरक्षित
जन्माउनै पर्नेछ बुद्ध
सयपत्रीको
मनमा घुसेर
लालीगुराँसमा
आगो लगाउँदै छन्
स्वार्थ र अहंकारले
आमा !
मनबाट
माटो हराएपछि
कसले कोरिदिन्छ
मेरो देशको सग्लो नक्सा
र कसले
ठड्याइदिन्छ
स्वाभिमानको धरहरा
त्यसैले
हिम्मत राखेरै
तिमीले
कष्टलाई भेदन गर्न
सक्नुपर्छ
तिमी
हार्नु हुन्न आमा
तिमी हार्नु हुन्न
तिमी हारे
कसले खोजीदिन्छ ?
सञ्जीवनी
यो माटोको निमित्त
कसले सिकाउँछ ?
पीडा कुल्चेर
मुस्कान फुलाउन
अनि
कसले सिकाउँछ ?
चिचिलाहरुलाई
भोलि बास्ने
बिहानीको प्रतीक्षा गर्न
र
विभेद माथि
धारिलो प्रहार गर्न
कसले
दिशानिर्देश गर्छ ?
विद्रोही बतासलाई
अन्यायका जरा उँखेल्न
र
अन्धविश्वास बढार्न
अनि
कसले हाल्छ ?
चारो
परेवाहरुलाई
आफू
दुखेर
चिथोरिएर
रेटिएर पनि
राष्ट्रको समृद्धिको निम्ति
विलक्षण उडान भरेर
माटोलाई खुसी दिने
सन्तान
नजन्मिउन्जेलसम्म
तिमी हार्नु हुन्न
आमा
तिमी हार्नु हुन्न ।
वि.सं.२०७८ साउन २३ शनिवार ०६:५४ मा प्रकाशित






























