दौरा–भोटो,चौबन्दीचोली–फरिया हराए अचेल
माँसिदै छन् धान खेतबारी खरिया हराए अचेल
थकाइ मेट्ने ती वरपिपल र चौतारी पुरिए सबै
बाँसुरीको धुनसङै सुसेली र भरिया हराए अचेल ।
२.
असंख्य पीडा यो छातीभरी लुकेका छन्
परेली भिजेका छन् नयन तल झुकेका छन्
छैन चासो जनताको पसिनामा चुठ्नेलाई
गुण्डा पापी अपराधी जेलबाटै भुकेका छन् ।
३.
आभास हुन्छ लोकतन्त्र झुपडीहरुमा पसे पछी
घाँस हुन्छ लोकतन्त्र कुर्सीको खुट्टामा फसे पछी
के सुनाउँ देशको हाल यस्तै यस्तै छ आजकल
लाश हुन्छ लोकतन्त्र न्यायमूर्तिको आँखा बसे पछी ।
४.
एक्लै पनि छैन यो भीडमा, न त आभास कसैको,
न ठाउँ खाली छ यो दिलमा, न त बास कसैको !
जे छ मसंग खुशी छु, एक्लै एक्लै रमाउने भो बानी
आफ्नै मनको त मालिक छैन नत दास कसैको ।
५.
दिन ढल्केर घाम डुबायो छायाँ हरायो,
चम्पा चमेलीले सुवास छर्दा साँझ डरायो
गोधुँली साँझमा मनमा चल्छ आँधीबेहरी
बितेका ती पलहरुले परेली भिज्ने गरायो ।
वि.सं.२०७८ साउन २३ शनिवार ०७:०२ मा प्रकाशित






























