जलमग्न हुँदा सब बासहरू
दिल टुट्न पुगे हर आसहरू ।
अविनाश धरा सब नाश भयो ।
किन जीवनको उपहास भयो ।।१।
किन खस्दछ काल बनी पहिरो
किन चोट हुँदैछ झनै गहिरो ।
अतिसार भयो अनि हार भयो
चुपचाप यहाँ सरकार भयो ।।२।
नत सृष्टि नयाँ अतिवृष्टि भयो
किन दैव ममाथि कुदृष्टि रह्यो ।
घरबार उठे, परिवार टुटे
गुँड रुन्छ कहाँ बचरो नछुटे ।।३।
रनभुल्ल प¥यौँ न उपाय कुनै
चुपचाप सहौँ न सहाय कुनै ।
किन दीन मरेर निहाल बचोस्
न त दैव यहाँ अब खेल रचोस् ।।४।
नर जीवन यो अति रुग्ण भयो
बलियो किन होस् कमजोर छ यो ।
हर आपदमा झिक आँट मिलोस्
गतबाट सिकौँ नव पाठ मिलोस् ।।५।
छन्द: तोटक छन्द
वि.सं.२०७८ साउन २३ शनिवार ०७:११ मा प्रकाशित






























