२४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा अर्थमन्त्रालयले स्कट एक्सचेन्ज (नेप्से)सँग सेयर कारोबार विवरण (ओटीसी) माग गरेको छ । मन्त्रालयले आइतबारसम्मको समयसीमा दिँदै विवरण पेश गर्न भनेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य चन्द्र ढकाल तथा नेप्सेको सीइओ चन्द्रसिंह साउदले आफ्ना परिवारका सदस्यको नाम सर्वोत्तम सिमेन्टको संस्थापक सेयर किनेको तथ्य फेला परेपछि अर्थले स्पष्टीकरण सोध्ने कार्य गरिरहेको छ । यस प्रकरणसँगै सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने कार्य पनि विवादमा परेको छ ।
यसअघि अर्थले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग स्पष्टीकरण सोधेको थियो ।
उक्त जवाफ चित्त बुझ्दो नभएपछि अर्थमन्त्रालयले थप छानविनका लागि शुक्रबार नेप्सेसँग कम्पनीको ओटीसी मगाएको हो । आरोपित ढुंगाना र साउदले स्पष्टीकरण दिएसँगै अर्थले थप अनुसन्धानका लागि ओटीसी दिन भनेको हो ।
आरोपित ढुंगाना र साउदले स्पष्टीकरणमा नेप्सेमा सुचिकरण नभएको कम्पनीको सेयर खरिद गदर्ता भित्रि कारोबार गरेको ठहर नहुने दाबी गरेका छन् । साथै बोर्डका अध्यक्ष ढुंगानाले छोरीको विवाह भएको बताउँदै एकाघरकी सदस्यको रुपमा लिन नमिल्ने तर्क गरेका छन् ।
अर्थले दुवैको स्पष्टीकरणबारे अध्ययन गरिहेको जनाएको छ । स्पष्टीकरण र ओटीसीको छानबिन पछि निष्कर्षमा पुग्न सकिने अर्थको भनाई छ ।
नियोजित देखिएको अर्थको प्रारम्भिक धारणा
अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार शेयर खरिद प्रकरणलाई प्रारम्भिक रुपमा हेर्दा नियोजित खालको छ देखिएको बताए । साथै कानुनलाई उल्लंघन गरिएको देखिएको बताए ।
उनका अनुसार यसमा अन्तिम निष्कर्ष अहिले नै दिन नसकिने भए पनि संलग्नहरु कारबाहीको भागिदार बन्ने स्थिति देखिएको बताए ।
बजारमा सर्वोत्तम सिमेन्टको कुल ६० लाख कित्तामध्ये ११ हजार ९१२ कित्ता सेयर धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा, १ लाख १९ हजार ११७ कित्ता सेयर उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफैँ सहोदर भाइ हेमराज ढकालको नाममा र १० हजार कित्ता सेयर नेप्सेका अध्यक्ष चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुशीलाकुमारी बोहराको नाममा भित्री चलखेलका आधारमा खरिद गरेको कुरा बाहिरिएको थियो । कानुनलाई मिच्दै यसरी कारोबार गरेको कुरा सार्वजनिक भएसँगै अर्थले छानबिन थालेको हो ।
वि.सं.२०७८ साउन २४ आइतवार ०८:०५ मा प्रकाशित






























