साउन २६, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलोकतान्त्रिक पद्धतिबाट बनेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले शेरबहादुर देउवाप्रति जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री भएको बताए । जुन जाली शैली रहेको ओलीको जिकिर छ । उनले देउवा प्रधानमन्त्री हुनु दुनियाकै लागि नयाँ नजिर पनि बनेको बताए ।
‘म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको थिइन्, परमादेशबाट पनि प्रधानमन्त्री भएको थिइन्, म जनादेशबाट प्रधानमन्त्री भएको थिएँ’, ओलीले भनेका छन्, ‘अपवित्र, अनुचित, असमायिक, असान्दर्भिक, अलोकतान्त्रिक, असंवैधानिक गठबन्धनबाट त्यो जिम्मेवारी खोसिएको छ, राजनीतिमा कहिलेकाँही यस्तो हुँदो रहेछ, हुन्छ, दुनियामा नयाँ नजिर कायम भएको छ – अदालतबाट प्रधानमन्त्री तोकिने ।’
उनले अदालतबाट प्रधानमन्त्री बनेको कुरा विश्वकै लागि नयाँ रेकर्ड भएको बताए । उनले यस्तो रेकर्ड अन्त भए देखाउन पनि सुझाए ।
ओलीले अदालतप्रति आफुँले विश्वासको गरेको भएपनि फैसला अनपेक्षित भएको बताए । फैसलाले अदालतको गरिमालाई कमजोर पारेको टिप्पणी गरे । आफुँलाई अदालतको गरिमाप्रति चिन्ता रहेको भनाई उनको छ ।
देउवाप्रति व्यंग गर्दै ओलीले आफुँ ग्रहदशा सुध्रिएर प्रधानमन्त्री नभएको बताए । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन्, मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन्, म म कसैका कुण्ठा र महत्वकांक्षाबाट पनि प्रधानमन्त्री भएको होइन्’, ओलीले भने ।
वि.सं.२०७८ साउन २६ मंगलवार १४:३८ मा प्रकाशित






























