back
CTIZAN AD

पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण शुरु

वि.सं.२०७८ साउन ३१ आइतवार

597 

shares

३१ साउन, गलकोट । कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ ।

स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ ।

यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीयवासीको रु एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर लामो साइकल लेन निर्माण गरिएको छ । बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ ।

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो । तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पदमार्ग पहिचानको शुभारम्भ गरेका थिए।

त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनका रूपमा विकास गर्न थालिएको हो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।

“पदमार्गलाई साइकलसमेत कुदाउन सक्ने गरी विकास गर्न खोजेका छौँ, त्यसैले बेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनले जोड्ने हाम्रो उद्देश्य हो, अहिले गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको रु २० लाख र एक लाख श्रमदानबाट देउरालीबाट बेलढुङ्गा ‘भ्यू प्वाइन्ट’ पुग्ने स्लेट ढुङ्गासहितको ३०० मिटर पदमार्ग र सोही स्थानबाट एक हजार ७०० मिटर साइकल लेन निर्माण गरेका छौँं”, अध्यक्ष घर्तीले भने, “साइकल लेनमध्ये १७५ मिटरमा स्लेट ढुङ्गा बिच्छ्याएर चिटिक्क बनाएका छौँ, सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौँ ।”

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट केही सकारात्मकरूपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै रु दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत बेलढुङ्गा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर जैविक उत्पादन चखाउने योजना रहेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीषले बताए । श्रीषका अनुसार चार फिट चौडा साइकल लेन निर्माण गरिएको हो ।

बेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी गाउँपालिकाले अग्रसरता देखाएको उल्लेख गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले यो आर्थिक वर्षमा समेत बेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने बताए ।

“पदमार्ग र साइकल लेन निर्माणलाई पूर्णता दिन समय लाग्ने भए पनि यसको पूर्णताले पञ्चकोट र बेलढुङ्गालाई जोड्ने मात्र नभई साहसिक पर्यटकको गन्तव्य बनाउने छ”, थापाले भने ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड यसको प्रमुख आकर्षण हो । यद्यपि विसं २०७२ को भूकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुङ्गा ढलेको भए पनि अहिले पुनःनिर्माणले गति लिएको छ । अहिले बेलढुङ्गालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्डसमेत राखिएको छ ।

बागलुङ जिल्लाको काठेखोला–३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको दुई हजार ६१४ मिटर अग्लो पहाड बेलढुङ्गा अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १२:३३ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...