२, भदौ, काठमाडौं । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७ गते श्रीलङ्कासित, असोज २२ गते तेस्रो खेल भारतसँग तथा चौथो खेल बङ्गलादेशसित असोज २४ गते खेल्ने तय भएको छ ।
पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप असोज १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ । उक्त टोलीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । बन्द प्रशिक्षणमा २८ खेलाडी रहनुभएको छ । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।
वि.सं.२०७८ भदौ २ बुधवार २०:४९ मा प्रकाशित



























