back
CTIZAN AD

खत्री पौवा राजमार्गमा पहिरोको जोखिम

वि.सं.२०७८ भदौ ११ शुक्रवार

603 

shares

११ भदौ, काठमाडौँ । नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ ।

माथिबाट सर्दै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ । तल्लो तहबाट फलामे बारमार्फत पहिरो रोक्ने असफल प्रयास भएको देखिन्छ ।

नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा पर्ने खत्री पौवा राजधानी काठमाडौँबाट नजिकै छ । काठमाडौँबाट ओरालो झर्दा दायाँपट्टि सुरुङमार्ग र बायाँपट्टि रातमाटे डाँडा छ ।

बाटो मोडिँदै गर्दाको पहाड भास्सिकेको छ । केही अघि त्यहाँ पहिरो खस्दा दुई दिन सडक नै अवरुद्ध भयो । अहिलेसम्म भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएको छैन, तर बेलैमा ध्यान नदिए ठूलै क्षति बेहोर्नुपर्ने अवस्थामा रहेको भूगर्भविद्को प्रतिक्रिया छ ।

भासिएको पहाडमा केही कच्ची र केही ठूला पक्की घर परेको छ । केही घर उच्च जोखिमा छ । रातोमाटोमा गेगर मिसिएको जस्तो थुप्रो बेलाबेलामा ह्वारह्वार खसेर सडकमा आइपुग्छ, उक्त सडक प्रयोग गर्ने चालक र यात्रु अहिले डराइडराइ यात्रा गर्न बाध्य छन् । “कतिबेला माथिबाट खसेर पुर्ने हो, थाहै हुन्न”, एक यात्रुले प्रतिक्रिया दिए ।

व्यस्त सडकमा पहिरोको जोखिम हुँदा र सडकमा पहिरोले असर गरेकाले सहज सवारी आवागमन नहुँदा दैनिक लामो जामको सामना गर्नुपरिरहेको छ । मुख्य राजमार्गमा अहिले पहिराको धराप थापेजस्तै छ ।

कतिखेर खसेर सडकमा गुडिरहेका सवारीमा पर्ने हो भन्ने कुनै पत्तो छैन । ठूलो भेल पहिरो गयो भने त्यसले तल्लो तटीय क्षेत्रमा समेत ठूलै असर गर्ने देखिएको छ । कयौँ यात्रुको ज्यान लिने सम्भावना उत्तिकै छ । पहाडका चिरामा प्लाष्टिकले छोप्ने कामबाहेक अरु उपाय अपनाइएको देखिँदैन ।

त्यस ठाउँको खोला ठूलो छैन तर पहिरोसँगै बर्खे भेलको पानी मिसिँदा लेदोसहितको भेलबाढीले तल्लो क्षेत्रमा ठूलै असर गर्ने देखिएको छ । त्यतिमात्र हैन निर्माणाधीन सुरुङ मार्गबाट निकालिएका माटो, गिट्टीलगायतका थुप्रो पनि त्यही खोलामै मिल्काइएको छ । जसले जोखिम थप बढाएको छ ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्य खसेको पहिरा र सुरुङबाट निस्किएका गिट्टी ढुङ्गाको उचित व्यवस्थापन गरिरहेको दाबी गर्छन् ।

उनले त्यहाँको सानो खोलाको पानी पनि कुलो नै बनाएर लगिएकाले त्यसबाट समस्या नआउने बताउँछन् । उनका अनुसार आयोजनाले नै पहिराको विस्तृत अध्ययन गरिरहेको जानकारी दिए ।

“वर्षा भई रहेकाले अहिले नै केही गर्ने अवस्था छैन, सुरक्षित बनाउने र दुर्घटना कम हुने गरी काम भइरहेको छ, पानी रोकिएपछि त्यसको सबै व्यवस्थापनको काम आयोजनाले गर्छ”, उनले भने ।

त्यस पहिरोमा परेका छ घर परिवारलाई अन्यत्र व्यवस्थापन गरिसकिएको पनि उनले जानकारी दिए । आयोजना प्रमुख शाक्य आफैँमा कमजोर भूभाग भएकाले सुरुङ मार्ग नबनाएको भए पनि त्यहाँ पहिरो खस्ने जिकिर गर्छन् तर सुरुङ मार्ग निर्माणका क्रममा केही भित्ता काटिँदा पहिरो खस्न मद्दत मिलेको पनि उनले स्वीकार गरे ।

उनका अनुसार त्यहाँको भिरालो जमिन ५० डिग्रीको छ, ३० डिग्रीको भिरालो क्षेत्रभन्दा बढी हुँदा त्यहाँ माटो अडिन सक्ने अवस्था हुन्न । त्यसैले अहिले पहिरो जान थालिसकेको र भसिसकेकाले त्यसको अध्ययन र दीर्घकालीन व्यवस्थापनका लागि जापानबाट समेत विज्ञ टोली झिकाइएको उनले जानकारी दिए ।

सुरुङ मार्गबाट निस्किएको ढुङ्गा गिट्टी त्यही खोलसामा फाल्ने क्रम भने रोकिएको छैन । केही दिनअघि पनि टिपरको प्रयोग गरेरभित्रबाट निकालिएका सामग्री त्यही खोलामा फालिरहेको दृश्य देखिएको थियो ।

भारी वर्षा र भेल पहिरो जाने सम्भावना नकार्न नसकिने हुँदा त्यसरी पहिरो खस्यो भने तल्लो तटिय क्षेत्र पुर्ने र कटान हुने सम्भावना अधिक रहेको विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

नागढुङ्गा मुग्लिन सडक योजनाका प्रमुख अमृतमणि रिमालले बाटो फराकिलो बनाउने क्रममा काटिएकाले त्यसरी पहिरो खसेको हो भने । “प्रकृतिलाई चलाएपछि समस्या त आइहाल्छ, त्यसलाई सुरुङ आयोजनाले नै व्यवस्थापन गर्छ”, उनले भने ।

भित्रबाट निकालिएको ढुङ्गा, माटो, गिट्टीको उचित व्यवस्थापन नगरी खोल्सामा फाल्दा भने त्यसले तल्लो क्षेत्रमा विपद् निम्त्याउन सक्ने दाबी विपद् व्यवस्थापन विज्ञ कृष्ण देवकोटाको छ । उनले भने, “यसको बेलैमा उचित व्यवस्थापन गर्नु जरुरी छ ।”

विपद् व्यवस्थापन विज्ञ कृष्ण देवकोटाका अनुसार सुरुङ मार्ग निर्माण गर्दा जति मात्रामा रोकथामको उपाय अपनाउनु पर्ने थियो, त्यो नगर्दा पहिरो खसेको अनुमान गर्न सकिन्छ । “इन्लेट पोर्टल क्षेत्रमा पर्याप्त मात्रामा रोकथामका उपाए अपनाइएन, त्यसमाथि वर्षातको पानी र मानवीय कारण जोडियो”, उनले भने, “काम गर्दा गाडीलगायतको चाप पनि भयो, त्यसले पहिरो जान सहयोग गर्यो ।”

विपद् व्यवस्थापन विज्ञ देवकोटाले त्यस्ता खुकुलो जमिनको पत्र भएको ठाउँमा पूर्वतयारीका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता आयोजना निर्माण गर्दा ‘सेन्ट्रल लाइन’बाट दायाँबायाँ कम्तीमा ५० मिटर वा आवश्यताअनुसार जमिन सुरक्षित राख्ने व्यवस्थापनको काम गर्नुपर्छ, अझै माथिल्लो क्षेत्रमा जोखिम देखियो भने, त्यसको पनि उचित व्यवस्थापन गरेर काम गर्नुपर्ने बताए ।

“पहिरो हेर्दा ठूलै जोखिमपूर्ण देखिन्छ, लामो समयसम्म हाँडीघोप्टे खालको पानी प¥यो भने पहिरो बग्ने र सुरुङ मार्गबाट फ्याँकिएका ढुङ्गा गिट्टीसमेत बग्दै गयो भने भेल पहिरोको रुप लिएर मानवबस्ती, खेतीबाली र वातावरणलाई नै ठूलो क्षति पुर्याउन सक्छ”, उनले भने ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:२९ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...