१.
कुरा गर्छ दम्भपूर्ण, विचारधारा हीन राख्छ,
दास जसरी आफूलाई, सधैं पराधीन राख्छ ।
सनक देख्दा मान्छेहरूको अक्सर मलाई ताज्जुब लाग्छ,
कुन सपना देख्न मान्छे, सिरानीमा संगीन राख्छ ??
२.
खुसी खोसे दिनबाट, निंद चोरे रातबाट ।
अपहेलित हुनुपर्छ,सधैं अभिजातबाट ।
कतिन्जेल वली हुन्छन् ती विचरा जनताहरु ?
काटिएको काटियै छन्, जल्लादको हातबाट ।।
३.
पागल बनाउँछ मान्छेलाई, बिमार बनाउँछ,
सारा सुखचैन खोसी,लाचार बनाउँछ ।
माया भन्नू सौदावाजी! लाभान्वित त्यही हुन्छ,
जो मायालाई नाफामुखी,व्यापार बनाउँछ ।।
४.
माटो छुट्यो टेक्ने ठाउँको, बोल्दा छोप्छन् मुखलाई,
बगे महासागर बन्छ, नकोट्याउ दःुखलाई ।
जो स्वयं नै संत्रस्त छ अभिशप्त जीवनसंग,
कुन खुसीको कुरा सोध्छौ बगरको रुखलाई ??
५.
सकिएन फाल्न ती सब,जे जे थिए फाल्नुपर्ने ।
बाँकी रहे बेथितिका,पर्खालहरु ढाल्नुपर्ने ।
बसाउनेले यो संसारमा कस्तो थीति बसाएछन्,
आफ्नो मुटु चुँडालेर,अर्काको मन टाल्नुपर्ने ??
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३६ मा प्रकाशित






























