मुमा तिम्रो छोरी पल पल रुने याद छ अति
छु धेरै टाढा यो पर मुलुकमा भेट्नु कसरी ।
सबै स्वप्ना टुट्छन् विवस जहिले हुन्छु म मुमा
खुबै माया लाग्दै छ प्रिय जननी निश्चल अहा । १
भयो कस्तो ईच्छा अति मिलनको भेट नहुने
म छोरी अर्काको घर नगरमा बस्छु अहिले ।
न चाहेको पुग्ने न त सफर यो बन्छ सजिलो
थियौ आमा मेरी हृदय मुट त्यो प्रेम पहिलो । २
म जन्मे छोरी भै हरपल रुँदै बस्छु भवमा
कयौं स्वप्ना देख्थे रहर कति थे शान्त मनका ।
मुमा रानी तिम्रो सुख सयलमा साथ नहुँदा
म चिन्ता सुर्ताले हर बखतमा डुब्छु सहसा । ३
रसाएका आँखा टुलुटुलु गरी तस्विर छुने
र आत्मा पीडाले जखम गहिरो भो मन रुने ।
कसोरी पुग्ने हो सुख सुदिनको चाह मनको
रुँदा आत्मा मेरो सरस कविता लेखिन गयो । ४
शुभेच्छा लाखौंको छ प्रिय जननी आँचल चुमौं
सयौं आशा बुन्दै हृदय हितले हर्षित गरौं ।
कहानी पीडाको सुख र दुखको लेखन गरें
मुमा यो चेलीको नमन दिलले सेवन गरे । ५
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३९ मा प्रकाशित






























