आफ्नै विश्वासको विश्वास मरेपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें
पानीको थोपा थोपामा बाँचेको हाम्रो जिन्दगी
खहरे खोलाको पानी सुकेपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें ।
हावाको बहावसगै बहने हाम्रो जिन्दगी
चिसो बतासको शितल स्पर्श टाढा भएपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें
आफ्नै विश्वासको विश्वास मरेपछि ।
जताततै मानसिकताको पहिरो गएर
खोला नदी नालाको शुद्ध पानी मैलो भएपछि
छर छिमेकीको घरमा आगो सल्काइएको धुवाँले
हाम्रो परिवेशको शुद्ध वातवरण प्रदूषित भएपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें
आफ्नै विश्वासको विश्वास मरेपछि ।
हावा पानीको सन्तुलन यसरी बिग्रेपछि
आत्मियता र सद्भावनाको सुन्दर फूलबारीमा
पक्षपाती काँडे तारको डोरो लगाइएपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें ।।
आफ्नै विश्वासको विश्वास मरेपछि
तिमी हामीमा तनाव बढेपछि
तिमी कहाँ रह्यौ र अनि म कहाँ रहें
आफ्नै विश्वासको विश्वास मरेपछि ।
साई नन्दन, दिलाराम, टुङ्ग, दार्जिलिङ
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:४१ मा प्रकाशित






























