Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

यो कस्तो सपना



तोरीबारी सानो गाउँमा हुर्किएका वीरबहादुर । एकपरि खेत र आधापरि बारीले जसोतसो घरको खर्चपानी चलाउने गर्थे जीतबहादुरले । पन्द्रह–सोह्र घर थियो गाउँमा । एकअर्कामा साह्रोगाह्रो परिआउदा आफ्नै घर सम्झी सबैलाई सहयोग पुर्याउथे ।

बीरबहादुरलाई सबैले माया गरी बीरू भनी बोलाउने गर्थे । बीरूलाई पनि गाउँको माहोलले असर पारेकोले होला सानैबाट समाजसेवातिर धेरै चासो राख्ने गर्थे । पढाईमा ध्यान बिल्कुलै नजाने, बुवाको करले मात्र स्कूल जाने गर्थे । आठ कक्षासम्म बल्लतल्ल पुगिसकेका थिए । दस कक्षामा दुईचोटी फेल भएर तेस्रो दाखिला गराउनु भयो बुवाले । बुवाले कहिलेकाहीँ छक्क पर्दै भन्नु हुन्थ्यो –‘यो सातवटा पुस्तक एकवर्षमा कसरी याद हुँदैन तँलाई ? यही पढ्ने काम त छ तेरो । अलिक ध्यान दिने गर पढाईमा । आफूले त पढ्न पाइएन पढिएन । पढे तँलाई नै सुख होला, नत्र हामीलाई जस्तो दुःख भोग्नु पर्छ ।’

इम्फाल नगरमा सेनाको भर्ती खुल्ने भएको खबर सुनेर बीरूले निकै सोच्यो । ‘कतिपल्ट फेल भएसँगै पढ्ने साथीहरू क्याम्पस जान थाले । म कहिले दस कक्षा पास गर्न सकेको छुइनँ । आफैलाई लाज लाग्न थालिसक्यो ।’ पढाइको गाह्रो सम्झेर बीरूलाई फौजमा भर्ती हुनुपर्छ भन्ने सोच्यो ।

रातपरेपछि बुवाको छेउ गएर डराई–डराई फौजीमा भर्ना हुन जाँदा कस्तो हुन्छ भनी सोध्यो ।

‘हाम्रो गोर्खाको वीरमा कति नाम छ । तर, मलाई पटक्कै मन पर्दैन । टी.वी.–मा बाकसमा बन्द भएर आएका देखाउँदा मेरो मुटुनै फुट्ला जस्तो भएर आउँछ नानी । त्यो देख्दा मलाई पटक्कै मनपर्दैन ।’

‘उनीहरू त मातृभूमिको रक्षा गर्दै सहिद बनेर भारतमाताको झण्डा ओडाएर ल्याउछन् बुवा । कति इज्जत र सम्मानको साथ। हजार–हजार मान्छेको सम्मान पाउछन् ।’

‘तँलाई चैँ केको खाँचो परेर मसित यति लामो बहस गर्दैछस् ?’

‘बुवा इम्फालमा गोर्खालीको भर्ती खोल्दैछ अरे बुधवारको दिन । मलाई पढ्नै आएन । यसो भर्ती पो लाग्न जाऊँ कि भनेर हजुरलाई सोध्न आएको ।’

‘मैले तँलाई अघिनै मेरा इच्छा भनिदिए । मलाई मन पर्दैन भनी । सहिद भएर झण्डा ओडाएर मान–सम्मान त पाउँछन् । तर, त्यो बुढो बाउको हृदयमा कस्तो बज्र पर्छ होला, बुढो बाउको छोराले काँध हाल्ने बेलामा छोरोको अर्थी बाउले काँध हाल्दा । तँ अहिले यो अनुमान लगाउन सक्दैनस् । भोलि पर्सी बिहे गरेर छोरा–छोरी हुँदा मात्र कस्तो हुने रहेछ सन्तानको मोह पत्तो चल्छ । यो बुढो बाउलाई नरूआ । थपक्कै घरमै बस ।’

अब बुवाको अगाडि बिन बजाउनु ठीक छैन सोच्यो बिरूले । ‘हवस् बुवा ।’ भन्दै साथीको तिर लाग्यो । साथी गोपालसित मिली जसो तसो कुद्ने र पास भए मेडिकलसम्म लुकेर दिने सल्लाह मिलाए ।

बुधवार बिहानै स्कूल जान्छु भनि घरबाट बीरू निस्कियो दुवै साथी सीधै सी.आर.पी. केम्प लाङ्जिङ पुगे । मैदानमा बीस–बीस मान्छे कुदाउँदै थिए । दुई घण्टाजतिमा बीरू र गोपालको नाम बोलाए दुवैले जीउज्यान लगाएर कुदेर पहिलो हुन पुगे । भोलिबिहानै दुवै मेडिकलको लागि आउनु भनि आदेश दिए त्यहाँ । दुवै खुशीसित घर फर्किए ।

भोलिपल्ट बिहानै लुकेर गएर मेडिकलमा बसे । आजभने दुई बजीसम्म पालो आएको थिएन । बस नभेट्ने डरले दुवैको हालत खराब हुँदै थियो । तीन बजे बल्लतल्ल सकियो । त्यसदिनको अन्तिम बस भेटेर घरतर्फ लागे । बाटोमा सल्लाह गरे, सबैमा पास नभई कसैलाई केहि नसुनाउने ।

पन्द्रह–सोह्र दिनपछि लाङ्जिङ पुगेर गेटमा बसेका गार्डलाई रिजल्टबारे सोधे । मेडिकलमा बसेर पास भएकाहरूको नाम नोटिस बोर्डमा टाँसिएको छ गएर हेर्दा हुन्छ भन्यो गार्डले । दुवैको मुटु ढुकढुक हुँदै गएर हेरे । आफ्नो नाम देखेर एकछिन खुशीले विश्वासनै लागेन । तँ पहिला मेरा नाम पढ अनि म तेरो नाम पढ्छु र मात्र विश्वास हुन्छ होला भनी बीरुले त्यसैगरी पढेर खुशीहुँदै घरतर्फ लागे ।

घर पुगेरै पहिला बुवालाई खुट्टामा ढोगेर आज उ फौजी लागेको खुशखबर सुनायो ।

तर, बुवा बन्दै खुशी हुनु भएन । घरका मुख्य बुवा नै खुशी नभएकोले घरका अन्य सदस्य अलमल्ल परेका थिए । बुवा सबै बाक्सामा बन्द भएर आउदैनन् । यही गाउँका माथिका धने काका पनि त जानु भएको हो । अहिले त पेन्सन भएर घरमा बसी पैसा आउछ महिनैपछि । दिन आएपछि घरमै बस्दा पनि मरिन्छ । मलाई आफ्नो जन्मभूमि भारतमाताको सेवा गर्न धेरै इच्छा छ । पर्सीनै डिमापुरमा हाँजिरी जनाउनु आदेश छ । मलाई खुशी मनले बिदा दिनुहोस् बुवा । बुवाको मुखबाट एक वाक्य पनि फुटेन ।

जानेदिन बिहानै आमाले पूजापाठ गरेर टीको लगाएर धेरै आशीर्वाद दिएर छोरालाई घरबाट विदा गरिन् । गाउँका सबैसित विदा लिएर बीरू र गोपाल आफ्नो गन्तव्यतिर लागे ।

बीरू र गोपाल गएपछि घरका मात्र होइन पुरै गाउँनै शुन्य भएको अनुभव गरे । सबै छः महिना गन्दै बसेका थिए ।
गोपाल अँध्यारो मुख लगाएर भन्छ–‘भनेजस्तो कहाँ हुँदो रहेछ यार ।’

‘किन के भयो र तँलाई गोपाल ?’

‘यो तालिम त निक्कै साह्रो र गाह्रो पर्दो रहेछ । फौजी हुनुको लागि तालिम त गर्नु नै पर्ने रहेछ। फौजी बन्नलाई त निक्कै दुःख खट्नु पर्दो रहेछ । के के नै फौजी भइयो भन्दै खुट्टा उचाल्दै आएको खैई त यो तालिमसित हार खाएँ मैले बीरू । मलाई त भागेर घर जान मन लाग्यो ।’
‘हेर गोपाल पढ्न गाह्रो मानी, फौजी भइयो भन्दै रोप छाट्दै यहाँ आइयो । अब यहाँ तालिम गाह्रो भएर भागेर आएको भन्दै घर जानु ? हामीलाई घरबाट र गाउँकाले के भन्लान् ? तँलाई केहि अन्दाजा छ ?’

‘अँ भनौला साँच्चै भन्दा के जान्छ ? तालिम यति साह्रो छ उनीहरूलाई के थाहा ।’

‘त्यति सजिपोपनि छैन यार । पढ्नका गाह्रोले फौजी भए भन्दै खूब घमण्ड गर्दै गए । अहिले तालिम गाह्रो भयो भनि भागेर आए । यीनीहरू गरिखाने केटा होइनन् भन्दै थुक्नेछन् । गाउँमा हामीलाई कसैले पत्याउदैनन् । हाम्रो केहि इज्जत रहदैन । छः महिना न हो, जसरी भएपनि खट्नु पर्छ कुनै हालतमा। अरे यार हामी गोर्खे भएर कहिले हार मान्नु हुँदैन ।’

‘बुवा एकपल्ट फौजीमा भर्ती लागेपछि कसम खाइएको हुन्छ, ज्यान दिएर म मातृभूमिको रक्षा गर्छु भनि । म जति मेरो आमाको माया गर्छु, त्यत्तिनै मेरो देशको लागि पनि गर्छु । मेरो इच्छा नै देशसेवा हो । अब म मेरो डिउटीमा गइनभने प्रहरी आएर पक्डेर लान्छन् । त्यति सजिलो छैन छोड्नलाई । मेरो कुराको विश्वास छैन भने बिष्ट काकालाई एकपल्ट सोधी हेर्नुहोस् ।’

गोपाल बीरूका कुरा सुन्दै सोची रह्यो, केहि जवाब फर्काएन ।

छः महिना पश्चात तालिम सकियो । बीसदिनको छुट्टी पाएर कांग्पोक्पी घर पुगे । बीरूको बहिनीको बिहे तय भइसकेको रहेछ । एउटी बहिनी बीरूले केहि कमी नगरी बहिनीको बिहे सम्पन्न गरायो । बीरूको छुट्टी सकिएर जानेदिन आयो । रातीको खाना खाएपछि बुवाले भन्नुभयो –‘अबको छुट्टी आउदा तेरो बिहे गरौँ भनी मैले सोचेको छु । तेरो के कस्तो जवाब छ ?’

आफ्नो बिहेको कुरा सुनेर बीरू रातो पिरो भयो लाजले। अवाक् भयो ।

‘केहि जवाब दिदैँनस् त बीरू । कि कतै आफै केटी हेरेकोछस् कि?’

‘त्यस्तो त केहि छैन बुवा । हजुरलाई जे ठीक लाग्छ त्यहि गर्नुहोस् ।’ भन्दै लाजले भुतुक्कै हुँदै बाहिर गयो ।

यसपाली सीधै कारगील गएर हाजिरी हुनु पर्ने थियो दुवैलाई । जानेबेलामा आमाले टीका लगाई दहिको सगुन खिलाएर बिदा गर्नुभयो ।
बाटोमा गोपाल भन्छ ‘हामी कहिले सेनापतिसम्म नगएका, डिमापुरसम्म त जसो–तसो पुगियो। अब कारगीलको यात्रामा जाँदैछौँ, हामी पुगिएला ?’

‘आहा हातमा टिकट छँदैछ । किन अहिलेबाटै चिन्ता गर्छस् सोद्धै–खोज्दै पुगि हालिन्छ । ट्रेनमा चढेपछि पुगी हालिन्छ । देखिनस् यसपाली फौजी भएर जाँदा गाउँमा हाम्रो कति इज्जत थियो । सबैले पालैपालो निम्ताएर मीठा–मीठा खाना पकाएर खिलाए ।’
दुवैले सोद्धै–खोज्दै जसोतसो कारगील पुगेर हाजिरी जनाए ।

दुवै फुर्सतमा दुःख–सुखका कुरा गर्नेगर्थे । एकवर्षमा दुई महिनाको छुट्टी पाइनाले गर्दा एकप्रकार घरको कल्पना गर्दै खुशी पनि हुने गर्थे ।
एकदिन बिहानै तीन बजेतिर फौजीहरू पेट्रोलिङ जाँदै थिए । जंगलको बाटो सावधानीसित हिँड्दै थिए । बाटोमा दुश्मनले लेन्ड–माइन माटोमुनि गाडेर राख्ने गर्थे । अचानक माइन फुटेर अगाडि हिँड्ने चार जनालाई चोइटाले लाग्यो । अगाडी हिँड्ने त त्यहीँ सहिद भए । तीनजना बेहोश भएर लडे । छिटो–छिटो गरी उनीहरूलाई अस्पताल पुर्याए । डाक्टरहरूले कठीन परिश्रम गरी शरीरमा पसेका चोइटाहरू सबै निकाल्न सफल भए ।

बीरुलाई चोट लागेकोले धेरै चिन्तामा थिए गोपाल । कौब्रबाबा, गोविन्दजी भाकल गर्दै बसे । मन दोधारमा छ, घरमा घटनाको खबर सुनाउ कि नसुनाउ भई रह्यो । बीरूको बुवाले जानै मना गरेको सम्झे । जबसम्म बीरूलाई होश आउदैन तबसम्म नसुनाएकै राम्रो हुन्छ होला भनी मनमा सोच्यो ।

दुईदिन पछि बीरूलाई होश आयो । सबैभन्दा पहिला गएर भेटे गोपालले । धेरै बोल्न मना भएकोले मैले घरतिर यो खबर सुनाएको छुइन, के गरू होला भनि सोध्यो । निको भई हाल्छ । नसुनाएको राम्रो हुन्छ । बिनाबित्थामा चिन्ता हुन्छ, राम्रो गरेउ नसुनाएर गोपाल ।
बीसदिन अस्पताल राखेर निको भएपछि बीरूलाई एकमहिना छुट्टी दिए । अलिकदिन घरमा गएर आराम गरेर आउनु भनी सल्लाह दिए । यसपाली बिचारा गोपालको छुट्टी भएन । बीरू एक्लै घर पुगे । कसैलाई चोट लागेको नसुनाउने विचारमा थिए । गोपालसँगै किन नआएको सबैले सोधे । गोपालले छुट्टी पाएन मात्र भने बीरूले ।

गाउँको घर बाहिर स्नानघर थियो । एकदिन नुहाएर निस्किदै थिए आमाले वीरुको शरीरमा चोट देखेर डराउँदै भन्नु भयो –‘हे भगवान ! यो जीउभरि कसरी चोट लाग्यो ?’ जोडले कराएकोले सबै परिवार जम्मा भए । बीरूलाई आफ्नै लापरवाहीसित रिस उठ्दै थियो कि बुवाले सोध्नु भयो-

‘यो शरीरभरि के भएको यस्तो ?’

वीरुले अब लुकाउनु उचित लागेन र सबै सुनाए ।

‘त्यस्तो ठूलो केहि भएको होइन । डाक्टरले अपरेशन गरी चोइटा निकाली दिए । यो त दाग मात्र हो । अब म ठीक छु केहि चिन्ता नगर्नुहोस् हजुरहरूले ।’

‘हाम्रो आँखा छैनन् नानी ! यत्रो घाउ आलै छ, भोलि बिहानै इम्फाल गएर कुनै राम्रो प्राइवेट डाक्टर जचाउनु पर्छ ।’ बीरूले केहि जवाफ दिएनन् ।

डाक्टरले यत्रो चोट कसरी लाग्या भनेर प्रश्न गरे– कारगीलमा सरुवा भएर गएको थिए र बाटोमा बम फुटेर लागेको भनी सुनाए । डाक्टरले राम्रो जाँच गरी दसदिनको दवाई लेखेर भने, यो दवाई खाई सकेर फेरि आउने सल्लाह दिए । आज म कुनै फिस लिन्न देशको रक्षकको लागि भन्दै बिदा गरे ।

घरभित्र पस्नेबित्तिकै बुवाको गन्थन शुरू भयो –‘अस्तिनै त तेरो खुशीले गइस् अब पटक्कै जानु पर्दैन । यो मेरो हुकुम हो बुझिस् । मैले तल बजारमा पशु चिकित्सकमा काम गर्ने क्लरक रतन चापागाईंकी छोरी तेरोलागि माँगी सकेको छु । अब बिहे गरेर यहीँ कोही सानोतिनो काम खोजी घरमै थपक्क बस ।’

बुवासित केही बहस गर्न उचित लागेन बीरूलाई ।

एकदिन बुवाले बोलाएर भन्नु भयो–‘भोलि दिउसो विनयसित गएर केटी हेरेर आइज । तँलाई मनपरे म गएर बिहेको पक्का गरी आउछु । केटी त बी.ए. पास गरेकी रहेछिन । मलाई त देख्दै साक्षात लक्ष्मी जस्तै लाग्यो ।’

बीरूले रातभरि सोच्यो, ‘अहिले नै किन बिहे गर्नु ? जागीर लागेको वर्षदिन भएको छैन। अलिक पैसा कमाएर राम्रो घर बनाएर बिहे गर्दा राम्रो होला । बुवाले सोधे केटी मनपरेन भनिदिन्छु ।’

भोलिपल्ट दुईबजे केटीको घर पुगे । केटीको दाजुले भित्र बोलाएर लगे । सायद हामी आउने खबर पहिलै थाहा थियो जस्तो लाग्यो । केटीले चिया नाश्ता बोकेर बैठक कोठामा आइन् । केटीका बुवाले भने–‘मनिषा पहिला चिया–नाश्ता पाहुनालाई देउ ।’

बीरूले मनमनै सोच्यो केटीको नाम मनिषा रहेछ । लाजले रातोपिरो हुँदै चाय राखेर त्यहाँबाट गइन् । एकछिन कुराकानीपछि बीरूले जाने आज्ञा माँगे ।

घरबाट निस्किएपछि विनयले भने–‘केटी कस्तो लाग्यो तँलाई ?’

हिजोबाट पैसा कमाएर बिहे गर्छु, अहिले बिलकुल गर्दिन भन्नेले आज केटी देखेपछि आँखा र मनमै बस्यो । उ कल्पनामा डुबी रह्यो यहि भन्दै– ‘कति लामो कपाल, ठूला–ठूला सुन्दर आँखा, गोरी च्याट परेकी, हेराई कति राम्रो । यति राम्रीलाई कसरी मनपरेन भन्नु ? बुवाले भन्नुहुन्थ्यो साक्षात लक्ष्मीनै छिन भनी, साँच्चै हो रहेछ ।’

‘हन के सोच्दै छस् यार ? केहि जवाब नै छैन त । तँलाई मनिषा कस्तो लाग्यो ? भरे त बडाले मलाई सोध्नुहुन्छ मैले के जवाब दिउ भन त ।’
‘कति राम्री रहेछिन, मन नपर्ने त सवालै आएन नी यार । स्वर्गकी अप्सरा भन्दा पनि धेरै सुन्दरी ।’

विनयले बडालाई केटी मनपराएको खबर सुनाए । बीरूका बुवाले केहि विलम्ब नगरी बिहे सम्पन्न गराए ।

बीरूको छुट्टी सिद्धिएर जानेदिन नजिकै आउँदैछ । एकातिर बुवाको जानु पर्दैन भन्ने हुकुम । अर्कातिर नवविवाहित । कस्तो उपाय लगाउ भन्ने सोचमा परे वीरु ।

सबैजना कौसीमा घाम तापेर बसेको देखेर बीरूले मौका छोप्यो । ‘मेरो जाने पनि तीनदिन मात्र रहेछ ।’
‘फेरि यो केटो के भन्छ ? मैले अस्तिनै कुरा सकेको छु । मलाई केटाकेटी जस्तै नजिस्काई राख । अब घरमा बुहारी पनि छिन् । यतै कुनै सानोतिनो काम खोज ।’

‘बुवा एकपल्ट फौजीमा भर्ती लागेपछि कसम खाइएको हुन्छ, ज्यान दिएर म मातृभूमिको रक्षा गर्छु भनि । म जति मेरो आमाको माया गर्छु, त्यत्तिनै मेरो देशको लागि पनि गर्छु । मेरो इच्छा नै देशसेवा हो । अब म मेरो डिउटीमा गइनभने प्रहरी आएर पक्डेर लान्छन् । त्यति सजिलो छैन छोड्नलाई । मेरो कुराको विश्वास छैन भने बिष्ट काकालाई एकपल्ट सोधी हेर्नुहोस् ।’

धेरै बहसपछि बीरू डिउटीमा जाने पक्का भयो । आफ्नो ठाउँमा पुगेर हाजिरी जनाए । भर्खर चोट लागेको कारणले गर्दा बीरूलाई कोलकत्ता गएर हाजिरी हुने अर्डर निस्कियो । अब बीरू र गोपाल छुटिने भएकोले दुवै दुःखी भए । राती कोलकत्तामा सरुवा भएको खबर सुनाए घरमा । एक हप्तापछि जाँदैछु भने ।

जबसम्म बीरूको फोन आउदैन थियो, बुवालाई पीर लाग्ने गथ्र्यो । दुईदिन भयो छोराले फोनमा बात नगरेको । धेरै पीरले हिजो राती पनि निन्द्रा लागेन । फोन गर्न भ्याएन होला, अनेक थरि सोचेर ओछ्यानमा पसे । खाटमा पल्टिदै कतिबेला आँखा लागेछ । कताको सपनामा पुगेछन् ।

भोलिपल्ट वीरु कोलकत्ता जानलाई तयारीमा थिए । साँझको पेट्रोलिङ जाने आदेश भयो । क्यम्पबाट दुई की.मी. जति पर जाँदै थिए । फौजीमाथि दुश्मनहरू दुईतर्फबाट अन्धाधुन गोली चलाए । सबै फौजी लडेको देखेर दुश्मनले हतियार चोरेर फरार भए ।

वायरलेसमा सिग्नल नभेटेर दुई गाडी फौजी आए । त्यहाँ रगत बगेको देखेर सबै फौजीको रगत उम्लिएर आयो । फटाफट घायलहरूलाई गाडीमा हाली अस्पताल पुराए । डाक्टरले चारजना सहीद भईसकेको जनाए । त्यो सहिद भएकाभित्र बीरू पनि परेका थिए । अझै दुईजनाको हालत गम्भीर रहेको डाक्टरले बताए । यस्तो सुनेर सबैसाथीहरूको रगत तातिएर रिसले मुट्ठी कसेर मुरमुरिदै भन्दै थिए–‘हामी अहिले गएर तिनीहरूलाई खोजेर यही हालत पारी हाम्रो हत्यार लिएर आउँछौँ सर । हामीलाई अर्डर चाहियो सर ।’

‘पालोको पैँचो आउछ । तिमीहरू अहिले शान्त भएर बस, यो मेरो अर्डर हो ।’ अफसरले भने ।

बीरूको घरमा सबै रोएर हालत बिग्रेको थियो । बुवा भित्रभित्रै रोएर मुटु चुडी सकेको थियो, भन्दै थिए –‘नजा बाबु त भनेको थिए । आफ्नो बुद्धिले गर्दा आज यो दिन देख्नुपर्यो । मातृभूमिको रक्षा गर्दै सहिद भएपनि मान–सम्मान पाएपनि बुवाको काँध दिने बेलामा छोरोको काँध हाल्नु पर्ने यो कस्तो परीक्षा प्रभु हजुरको ।’

यता बुहारी, आमाहरू विलाप गर्दै रोएर हालत बिग्रेको थियो । पुरै गाउँ शोकमा डुबेर चकमन्न थियो । कोहि बाहिरबाट कराउदै भनेको सुने, ‘पार्थिक शरीर पुग्नेबेला भयो । सबै शान्त भएर बसिदिनु’ अनुरोध गर्दै थिए ।

बीरूको बुवा ‘छोरा यो के भयो ?’ भन्दै चिच्याउनु भयो । यति जोडले चिच्याएकोले घरका सबै बिउँझिएर के भयो भन्दै कुदेर आए । पूरै शरीर पसिनाले भिजेको देखेर सबै अत्तालिए । कोही पानी ल्याउन कुदे, कसैले पसीना पुछीदिए । एकछिनमा अलिक आराम भएपछि बुवा बोले–केही भएको छैन, साह्रै डरलाग्दो सपना देखेछु । जाओ सबै सुत भोलि कुरा गरौँला ।’

बुहारीले आफै भनिन्, ‘आज उहाँले मेसेज पठाउनु भएको थियो । कोलकत्ताको लागि निस्किनु भयो अरे । त्यहाँ पुगेर फोन गर्नुहुन्छ अरे, घरमा सबैलाई भनिदिनु ।’ भन्नु भएको थियो। यो सुनेर जीतबहादुरले ठूलो सास फेरे ।

सबै गएपछि ठण्डा दिमाग लगाएर सोचे ‘यो कस्तो सपना देखेँ भन्दा चौबीस घण्टा यस्तो अशुभ मनमा सोचेर देखेको भन्छन् । यो कस्तो सपना देखेँ मैले सलल बगेको, होशै उड्ने । कति हजारजनाका छोराहरू फौजीमा लागेका छन् देशको रक्षाको लागि । सबैले छोरा–छोरीमाथि गर्व गर्छन् । म मात्र किन यति पीतुरको भएको ? छोराको देशभक्तिको इच्छालाई म किन वाधा गर्दैछु । यो सपना देखेको कसैलाई सुनाउदिन । कोहि मरेको देखे आयु बढ्छ भन्छन् । साँच्चै मेरो छोराको आयु बढाई दिउन ईश्वरले आजबाट म नकारात्मक सोच कहिल्यै सोच्दिनँ ।’

सीतादेवी छेत्री कांग्लातोङबी, मणिपुर
मो. 9612254310


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना