१५ फागुन,रामपुर (पाल्पा) । बालिघाट क्षेत्र संरक्षण समितिको आयोजनामा डेढगाउँमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० बिरामीले सेवा लिएका छन् ।
शनिबार सञ्चालन गरिएको शिविरमा कालीगण्डकी बेसीका पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाका नागरिकले सेवा लिएका हुन् । एक दिने निःशुल्क शिविरमा विशेषज्ञसहितका डाक्टरद्वारा हाडजोर्नी, बालरोग, स्त्रीरोग, मानसिक रोग, नशा रोगलगायतका सेवा प्रवाह गरिएको थियो ।
स्वास्थ्य शिविरमा ८९ जनाले भिडियो एक्स–रे, अल्ट्रासोनोलोजिस्ट सेवा लिएको स्वास्थ्य एकाइका संयोजक वीरबहादुर बिसीले बताउनुभयो ।
दुई दिनको समय बिताएर पोखरा, बुटवल, कावासोतीमा स्वास्थ्य उपचारका लागि पुग्ने गरेका यहाँका स्थानीयवासीले घरदैलोमै सञ्चालन भएको शिविरबाट धेरै सुविधा लिन पाएकामा निकै उत्साहित भएको स्थानीयवासी चेतन पुलामीले बताउनुभयो ।
यहाँका स्थानीयवासीले बेलाबेलामा विभिन्न सुविधासहितको स्वास्थ्य शिविरसमेत सञ्चालन गर्न अनुरोध गरेका छन् । गाउँमा सञ्चालन भएको निःशुल्क र अत्याधुनिक शिविरबाट विविध सेवा लिनुका साथै समय र खर्चको पनि बचत भएकामा उनीहरु निकै उत्साहित भएका छन् । विशेषगरी यहाँ चलेको शिविरबाट वृद्धवृद्धा र महिला बढी लाभान्वित भएका छन् ।