१७ फागुन, धादिङ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले मेडिकल टिम इन्टरनेसनलसँगको सहयोगमा स्वास्थ्यकर्मीलाई १२ दिने ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम दिन सुरु गरेको छ ।
‘सङ्कटकालीन स्वास्थ्य सेवा’ परियोजनाअन्तर्गत प्राकृतिक विपद्पछि मानवीय जीवनको उद्धार र उपचारलाई कसरी व्यवस्थापन गर्ने भन्ने तालिमका क्रममा स्वास्थ्यकर्मीलाई सिकाइने छ ।
पहिलो चरणमा आज ३० जनालाई सो तालिम दिन सुरु गरिएकामा क्रमशः २५६ जना स्वास्थ्यकर्मीलाई सो तालिम दिइनेछ ।
यसैगरी जिल्लाका ४६ गाविस र एक नगरपालिकामा प्रत्येक वडाबाट दुई जनाका दरले ९०० जना स्थानीयवासीलाई तीनदिने ‘ग्रामीण प्रारम्भिक उद्धारकर्ता’ तालिम दिन लागिएको आयोजकले बताएका छन् ।
सो क्रममा हालसम्म ३३८ जनालाई त्यस्तो तालिम दिइसकिएको संस्थाका कार्यक्रम निर्देशक बिमल बिष्टले जानकारी दिनुभयो । उहाँले हाल धादिङ जिल्लालाई नमुना जिल्लाका रुपमा परियोजना सुरु गरिएको र यसलाई अन्य जिल्लामा समेत विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा धादिङका प्रजिअ उमेशकुमार ढकालले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्पछिको व्यवस्थापन र नागरिकको स्वास्थ्य सुरक्षाका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले गत वर्षको भूकम्पमा स्वास्थ्यकर्मीले कसरी काम गर्ने ठम्याउन नसक्दा समस्या परेको स्मरण गर्दै उद्धारकर्ता तालिमले त्यसको व्यवस्थापन सिकाउने बताउनुभयो ।
मेडिकल टिम इन्टरनेसनल नेपालका लागि देशीय प्रमुख एन्डर नोर्कुटले नेपाल प्राकृतिक रुपमा विपद्को जोखिममा रहेकाले त्यस्तो जोखिममा मानवीय उद्धार र उपचारलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको धारणा राख्नुभयो । रासस