काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विरोधकै बीच बिहीबार ६ वटा मुद्दाको सुनुवाई गरेका छन् । सर्वोच्चकै न्यायाधीशहरुको बहिस्कार र कानून व्यवसायीहरुको विरोधका बीच उनले चिया समय अगाडि नै ६ वटा मुद्दाको सुनुवाई सकेका थिए ।
राणाले ६ वटा संयुक्त र ३ वटा एकल गरी ९ इजलास गठन गरेका थिए । उनले आफ्नो एकल (पूर्णं) इजलासमा ६ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकेका थिए । उनले ६ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएका छन् ।
प्रधान्यायाधीश राणाको राजीनामा माग्दै केही दिनदेखि आन्दोलनमा उत्रिएका कानून व्यावसायीले बिहीबार भने निकै आक्रामक रुपमा नाराबाजी गरेका थिए । सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका व्यवसायीहरुलाई प्रहरीले धरपकड गरेपछि उनीहरु निकै आक्रोशित देखिएका छन् । धरपकडमा केही कानून व्यवसायी घाईते पनि भएका छन् ।
उनीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, विचौलियाको नाइके राजीनामा दे’ भन्दै नाराबाजी गरेका छन् । प्रहरीले धर्नामा हस्तक्षेप गरेपछि वकिलहरुले आक्रोशपूर्णं रुपमा उक्त नाराहरु लगाएका हुन् ।
सम्बन्धित समाचार
सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्व कानून व्यवसायीको नाराबाजी : विचौलियाको नाइके राजीनामा दे
वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:५८ मा प्रकाशित






























