१.
मान्छेको मथिङ्गल हल्लिनेगरि लेख्नसके
जीवन र जगतको गुप्त गर्भगृह देख्नसके
कलम चलाउनुको मज्जानै अर्को हुनेथियो
अत्याचार विभेदका आँधीहुरी छेक्नसके ।
२.
जिउँदो लास भएर बाँच्नु नपरोस्
गरीबलाई लुटेर धन साँच्नु नपरोस्
फेरि संसारलाई आनन्ददिन फक्रने
फूलका कोमल मुना भाँच्नु नपरोस् ।
३.
ठूलो खादामा लेखिएको संसार
भव्य मञ्चमा देखिएको संसार
किन पढ्न सकेन खुला आँखाले
उता मालाले छेकिएको संसार ।
४.
प्रजातन्त्र स्वतन्त्रताको सास हो
शान्ति समृद्धि जनताको आश हो
शासनमा तानाशाही चल्ला भन्ने
आम जनतामा रहेको महात्रास हो ।
५.
ताराको बस्तीमा जून बनेर आइन्
पित्तलको चाङमा सुन बनेर आइन्
कुरा काट्नेले काट्दै गरुन् उनीभने
बैगुनीको भीडमा गुन बनेर आइन् ।
बाबुराम न्यौपाने “उत्स’, दमक, झापा
वि.सं.२०७८ पुस ३ शनिवार ०७:३१ मा प्रकाशित






























