क्रान्ति अझ त्यसमा पनि जनक्रान्तिको उच्चारण सुन्नासाथ आफूलाई पढे लेखेका अब्बल दर्जाका बुद्धिजीवी भन्नेहरुको आङ्ग नै सिरिङ्ग हुन पुग्दछ । किताबी ज्ञान र अध्ययन डिग्रीका आधारमा बुद्धिको मापन गर्ने बानी परेको हाम्रो समाज क्रान्तिभित्र मारकाट र गोलाबारुद बाहेक अरु देख्दैन । अर्काथरी केही बुद्धिजीवीहरु जसले आफुलाई क्रान्तिकारी बुद्धिजीवी भन्न रुचाउछन; उनीहरू क्रान्तिको बौद्धिक तयारीलाई पुरैरुपमा नकारी अन्धबौद्दिकता विरोधिपनलाई क्रान्तिकारी चरित्रको रुपमा परिभाषित गर्दै बुद्धिजीवीहरू गफस्टक, कामचोर र परजीवी स्वभावका मात्र हुने देख्छन । विचारको यो द्धन्दबीच नेपाली मौलिक क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने दायित्व भने यिनै बुद्धिजीवीहरुको काँधमा छ ।
आज सामाजिक र भौतिक विज्ञानको श्रेत्रमा चमत्कारिक परिवर्तनहरु भएका छन् । समाज विकासको प्रक्रियालाई नबुझेर हो वा बुझ्ने प्रयास नगरेर हो वा बुझेर पनि बुझपचाएर हो, भौतिक विकासको क्रममा समाजको द्धन्दवादी विकासको क्रमलाई बुझपचाउने केही स्वघोषित बुद्धिजीवीहरूले समाजको अन्तरविरोधात्मक शक्तिहरूको द्धन्दले नै कुनै बस्तुलाई गति प्रधान गर्छ भन्ने भौतिक विज्ञानले नै प्रमाणित गरेको मान्यतालाई आत्मसात गर्न खोजेको पाइदैन । मानव समाज गतिशील हुन्छ त्यसैले इतिहासका प्रत्येक चरणमा विधमान उत्पादन प्रणालीको स्तर अनुसारको द्धन्द चलिरहन्छ । मानव समाजको द्धन्दको यस क्रममा यथास्थितिवादी सोंच र चिन्तनमाथि परिवर्तनकारी सोंच र चिन्तनले सदैव विजय हासिल गरेको हुन्छ । यो द्धन्दको नियम नै हो । समाज उत्पादनका साधनहरुको भण्डार हो । समाजमा मानव साधन, भौतिक साधन र आर्थिक साधनको अस्तित्व हुन्छ । यी साधनहरु कहिलेकाहीं साधन मात्र नभएर साध्य पनि बन्न पुग्छन । समाज निर्माणको अस्तित्वमा रहेका यी आधारहरू जब उत्पादन प्रणालीका मेहनतकस जनताको हातमा पर्छ तब समाजमा प्रगतिवादी परिवर्तन देखा पर्छ । तर जब यी उत्पादनका साधनहरु सिमित पुँजिवादी सामन्तको हातमा पर्छ, समाज विकासको प्रगतिवादी क्रम अवरुद्ध हुन्छन, समाज सिमित वर्गको कब्जामा पर्छ ।यसबाट आमजनतालाई मुक्ति गर्ने मार्ग भनेको जनक्रान्ति नै हो ।
आर्थिक उदारिकरण र विश्वभूमण्डलीकरणको सुगा रटाई विकासको फगत कार्यपत्र तयार पार्नेहरूलाई के थाहा र– बुद्धिजीवी त्यस्तो व्यक्ति हो जसले बुद्धिको प्रयोगबाट वस्तुको उत्पादन गर्छ वा उत्पादनमा सहयोग गर्छ र त्यसबाट जिविका पार्जनमा प्रत्यक्ष वा परोक्षरुपमा जिविका चलाउँछ भन्ने कुरा । समाज विकासका यी चरणहरु नबुझ्ने वा बुझ्न नखोज्ने वा बुझपचाउने यस्ता प्रवृतिका बुद्धिजीवीहरु वास्तवमा बुद्धिजीवी होइनन् । यस्ता प्रवृतिका बुद्धिजिवी थेसिस लेख्ने परजीवी बुद्धिजीवी मात्र हुन ।
हाम्रो समाजले इतिहासको लामो कालखण्डदेखि नै श्रम र बुद्धिजीवीहरूलाई अन्तरविरोधात्मक गुणका रुपमा चित्रण गरेको छ । यथार्थमा श्रमले उत्पादन र त्यसमा लाग्ने मेहनतलाई जनाउँछ भने बुद्धिले श्रमबाट उत्पादन हुने चेतना र त्यसको स्तरलाई जनाउँछ । बास्तवमा श्रम नै उत्पादनको सारतत्व हो ।हामीले श्रमको परिभाषाभित्र हातखुट्टाले गर्ने श्रम अर्थात भौतिक श्रमलाई सम्झन्छौ तर मानसिक श्रमलाई विर्सन्छौं । उत्पादनका साधनहरू भनेको मानिस, अर्थ, भौतिक साम्राग्री र प्रविधिको संयोजन हो । मानिस उत्पादनको त्यस्तो साधन वा आधार हो जसले शारिरिक र मानसिक दुबै प्रकारको श्रमको प्रयोग गर्छ । श्रमको व्यवहारिक प्रयोगको द्धारबाट नै चेतनाको प्रस्फुटन हुन्छ भने चेतनाले श्रमको वौद्धिक र सहज प्रयोग गर्छ।आज श्रमको यही परिभाषाबीचमा अन्तरविरोध छ ।बास्तवमा अन्तरविरोध हातखुट्टा र गिदीबीचको होइन, यसको प्रयोगकर्ताको सोंच र चिन्तनमा हो ।
जब कुनै पनि वस्तु वा घटनालाई समय, स्थान र सन्दर्भका आधारमा सापेक्षतावादमा आधारित भई विश्लेषण गर्नु पर्नेमा सो नगरी मनोगतवादी ढंगले विश्लेषण गरिन्छ तब अतिवादको जन्म हुन्छ । नेपाली समाज अहिले अतिवादको शिकार भइरहेको छ । केही बुद्धिजीवीले नेपालको राजनीति र समाज विकासमा आएको परिवर्तनलाई जनक्रान्तिको आधारका रुपमा पचाउन सकेका छैनन । परिवर्तनमा खासै भूमिका नभएका र भूमिका नखेलेका स्वघोषित बुद्धिजीवीहरुलाई यो भान पर्नु स्वभाविक नै हो । आर्थिक उदारिकरण र विश्वभूमण्डलीकरणको सुगा रटाई विकासको फगत कार्यपत्र तयार पार्नेहरूलाई के थाहा र– बुद्धिजीवी त्यस्तो व्यक्ति हो जसले बुद्धिको प्रयोगबाट वस्तुको उत्पादन गर्छ वा उत्पादनमा सहयोग गर्छ र त्यसबाट जिविका पार्जनमा प्रत्यक्ष वा परोक्षरुपमा जिविका चलाउँछ भन्ने कुरा । समाज विकासका यी चरणहरु नबुझ्ने वा बुझ्न नखोज्ने वा बुझपचाउने यस्ता प्रवृतिका बुद्धिजीवीहरु वास्तवमा बुद्धिजीवी होइनन् । यस्ता प्रवृतिका बुद्धिजिवी थेसिस लेख्ने परजीवी बुद्धिजीवी मात्र हुन ।
मान्छेको श्रमले उब्जाएको खाद्य सामाग्रीले मान्छेलाई श्रम गर्न सक्षम बनाए जस्तै समाजका द्धन्दात्मक शक्तिहरूको अन्तर मिलनले बुद्धिको सिर्जना गर्छ र बुद्धिजीवीको थप बौद्धिक श्रमको उत्पादक लगानीले समाजिक द्धन्दात्मक प्रक्रियालाई तिव्रतर गति प्रदान गर्छ । यही अनवरत लेनदेन प्रक्रियाको परिणामस्वरुप नै सामाजिक श्रमले बानरलाई मान्छे बनाइदियो भने मान्छेले ढुंगेयुगीन समाजलाई आणविकयुगीन मान्छे बनाइ दियो । (डा. बाबुराम भट्टराई, नेपाली क्रान्तिका आधारहरू)
अहिले नेपालमा प्रगतिवादी बुद्धिजीवी र परजीवी बुद्धिजीवीहरुका बीच तिव्र अन्तरसंघर्ष चलिरहेको छ । कतिपय बुद्धिजीवीहरू विकासको गतिलाई उल्टो क्रममा हिडाउन खोज्दै समाज परिवर्तनका संघर्षमय घटनाक्रमहरुलाई नजरअन्दाज गर्न खोज्दैछन । आफू अगाडी सिंगो उभिएको नेपाली समाजको कारुणिक तस्विर नदेखेर सोझा नागरिकहरूलाई अमेरिका र बेलायतका सपनाहरु बाँड्ने गरेका छन । एउटै समयमा विभिन्न देशका समाजहरु विकासका विभिन्न चरणमा रहेको र एउटै देशभित्र पनि विभिन्न क्षेत्र अलग अलग विकासको चरणमा रहने र रहेको सन्दर्भमा बुद्धिजीवीहरुले आफ्नो भूमिकालाई सोहीअनुरूप बनाउनु पर्ने जरुरी हुन्छ । तर लाज पचिसकेका यथास्थिति र प्रगति विरोधी बुद्धिजीवी भनाउँदाहरुलाई ढुलमुले अवसरवादको प्रयोग गर्दै समाजलाई तटस्थतामा घुमाई राख्नुमा भने एक प्रकारको आनन्दानुभुती हुन्छ नै ।
समाज वर्गीय छ र वर्गीय समाजमा बुद्धिजीवीहरू पनि समाजको चरित्रअनुसार विभाजित हुनु स्वभाविक नै हो । यस्तो समाजमा समाजमा हुने प्रत्यक्ष र परोक्ष वर्ग संघर्षले बुद्धिजीवीहरुलाई कुनै न कुनै पक्षको पक्षपोषण गर्न बाध्य बनाउँछ नै । श्रमसँग जोडिएका बुद्धिजीवीहरुले श्रम, उत्पादन र चेतनालाई एकाकार गर्न खोजिरहेका हुन्छन जो यथार्थता पनि हो भने अर्का थरी बुद्धिजीवीहरु डिग्रीलाई सिरानीमा राखी आफूलाई समाजका अब्वल नागरिक ठानी फगत बुद्धिको पण्डित्याई गर्छन । उनीहरू मानिसको बुद्धि चेतनासँग एकाकार हुन्छ र चेतना समय, परिस्थिती र परिवेशले निर्माण गर्छ भन्ने मान्न तयार हुदैनन् ।
यदि बुद्धिजीवीहरु विचारलाई विस्तारा लगाएर सुत्यौं भने विश्वव्यापीकरण, आर्थिक उदारीकरण र विकासमा सहयोगका नाममा वैदेशिक उपनिवेश बन्न बाध्य हुनेछौं । यसबाट निकास पाउन भोली देशमा गोली र बारुदको खेल खेल्नै पर्छ त्यसैले बुद्धिजीवीहरूले स्वर्णिम इतिहास निर्माणका लागि पहल गरौं नत्र इतिहासले गिज्याउने छ ।
मानिस संसारका सम्पूर्ण प्राणी जगतहरू मध्ये सर्वश्रेष्ठ गिदी भएको प्राणी हो जो आणविक औजारभन्दा पनि जटिल, बलियो र प्रभावकारी हुन्छ ।यो हतियार खेलाउने सुविधाप्राप्त वर्ग भनेको बुद्धिजीवी नै हो । यदी बुद्धिजीवीहरुले यो हतियार मानव सभ्यताको विकाससँगै समाज रुपान्तरणका पक्षमा प्रयोग गर्ने हो भने नयाँ र स्वर्णिम इतिहासको निर्माणमा काम लाग्न सक्छ नत्र इतिहासका फोहर रच्छ्यानमा बुद्धिजीवीहरू विसर्जन हुन पुग्छन् ।हाम्रो वर्गिय समाजले वर्गिय युद्धको आव्हान गरिरहेको सन्दर्भमा एक दिन यो डढेलोसरी संसारभर फैलने छ र सारा संसारलाई जलाउने छ । युगले समयको माग अनुसार एक योद्धाको खोजी गरीरहेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताले गरेका शान्तिपूर्ण आन्दोलन, शसस्त्र जनविद्रोह, मधेश आन्दोलन लगायत त्याग र बलिदानीको परिणामस्वरुप नेपाली जनताले समान्तवादको अवशेषका रुपमा एकात्मक राज्य प्रणाली र त्यसको प्रतिनिधी संस्था राजतन्त्रको समुल नष्ट गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताकाबीचको एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको उद्घोषसहित नेपालको संविधान जारी गरेका छन् । आज नेपाली जनताको त्याग र बलिदानीको परिणामस्वरुप जारी संविधानले उद्घघोष गरेको समाजवादप्रतिको प्रतिवद्धतामाथि पुँजिवादी स्रामाज्यवादले हस्तक्षेप गर्न खोजिराखेको छ । आर्थिक विकास र स्वतन्त्रताका नाममा सामाजिक न्यायमाथि बलात आक्रमणका प्रयासहरू भएका छन् । विश्व भूमण्डलीकरण र आर्थिक उदारीकरणका नाममा विश्व वजार सिमित व्यक्ति र देशहरूका कव्जामा लिन खोजिएको छ । यो विशाल रणभूमिको चित्रपटमा बुद्धिजीवीहरुको भूमिका के हुन सक्ला त ?
राष्ट्र कसैको बपौती, पेवा होइन । यो आमनागरिकको साझा चौतारी हो । त्यसैले आम बुद्धिजीवीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रकालागि सोंच्ने बेला आएको छ । अहिले विचारले देशमाथि आइलाग्न सक्ने खराबी वा संकटलाई रोक्न सकिन्छ । यदि बुद्धिजीवीहरु विचारलाई विस्तारा लगाएर सुत्यौं भने विश्वव्यापीकरण, आर्थिक उदारीकरण र विकासमा सहयोगका नाममा वैदेशिक उपनिवेश बन्न बाध्य हुनेछौं । यसबाट निकास पाउन भोली देशमा गोली र बारुदको खेल खेल्नै पर्छ त्यसैले बुद्धिजीवीहरूले स्वर्णिम इतिहास निर्माणका लागि पहल गरौं नत्र इतिहासले गिज्याउने छ ।
वि.सं.२०७८ पुस ६ मंगलवार ११:४७ मा प्रकाशित






























