काठमाडौं । विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको मिश्र पक्षको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
मिश्र समूहले पाण्डेलाई पठाएको जानकारी पत्रमा उनलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको भनिएको छ। केही दिनअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ पाण्डेले दिएका थिए।
‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’
विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर पछिल्लो समय चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।
मिश्र पक्षले हालै केन्द्रीय समितिको बैठक राख्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने निर्णय गरेको थियो । जससँगै पार्टीभित्रको विवाद विभाजनतर्फ बढेको थियो ।

सम्बन्धित समाचार
विवेकशील साझा विवाद : पाण्डे समूहले घोषणा गर्यो सामानान्तर कमिटी
वि.सं.२०७८ पुस ६ मंगलवार १४:५८ मा प्रकाशित






























