काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्णरुपले बहसमा केन्द्रीत हुन अपिल गरेका छन् ।
१२९ औं माओ जयन्ती तथा आफ्नो पार्टीको महाधिबेशनको संघारमा शुभकामना दिँदै अध्यक्ष्य प्रचण्डले नयाँ विचारसहितको पार्टी निर्माणका लागि सम्पूर्ण रुपले बहसमा केन्द्रीत हुन अपिल गरेका हुन् ।
‘महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील गर्दछु ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।
अध्यक्ष प्रचण्डले मालेमावादी विश्वदृष्टिकोणको नेकपा माओवादी केन्द्रद्धारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको समेत बताएका छन् ।
अध्यक्ष प्रचण्डले भनेका छन्– जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ ।’

वि.सं.२०७८ पुस ११ आइतवार ०९:२५ मा प्रकाशित






























