काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन नसेकेकोमा पछुतो लागेको बताए । आइतवार काठमाडौंमा माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा पोखरेलले अघिल्लो पटक माओवादी र एमाले मिलेर निर्वाचनमा गएको स्मरण गर्दै नेकपा एकता जोगाउन किन सकिएन भनी प्रश्न गरे।
‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ एउटै घोषणा पत्रमा चुनाव लड्यौँ र एउटै पार्टी बनाउन नेकपा गठन गर्यौँ’, पोखरेलले भने, ‘त्यो एकतालाई कायम राख्न सकेनौँ, एकताका लागि इमान्दार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’
यद्यपि एमाले र माओवादीको एकताका लागि आफूहरुले गरेको प्रयास इमान्दार भएको पोखरेलले बताए । पोखरेलले अगाडि भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’
पोखरेलले नयाँ म्याण्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए ।
वि.सं.२०७८ पुस ११ आइतवार १७:४७ मा प्रकाशित






























