काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीकै बलले आफूहरु संविधान सभामा जान तयार भएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक परिवर्तनमा गरेको योगदानको चर्चा गरे ।
‘पुष्पकमल दाहालजी, प्रचण्डको नेपाली राजनीतिमा ठूलो योगदान छ। उहाँले शान्ति स्थापनाका लागि संविधान सभामा जाऔं भन्ने गर्नुहुन्थ्यो। यो सत्य हो कि उहाँकै बलले हामी संविधान सभामा गएका हौं’, देउवाले भने।
प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागिपर्ने पनि बताए। ‘शान्ति प्रक्रियाका काम बाँकी छन्। यसलाई पूरा गराएर समाधान गरेर सदाका लागि स्थायी शान्ति निर्माण गर्नेतर्फ हामी जाने छौं,’ देउवाले भने।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बाँकी काम छिट्टै पूरा गर्ने पनि प्रधानमन्त्री देउवाको भनाइ छ।
यसैबीच उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारेका छन्। अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।
वि.सं.२०७८ पुस ११ आइतवार १८:४८ मा प्रकाशित






























