काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आइतवारदेखि राजधानीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रसमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको र त्यो सित्तैमा आएको बताएका छन् ।
‘एमसीसी राष्ट्रघाती भन्नेले त्यो पढेको छ कि छैन भन्ने त्यो पनि थाहा छैन मलाई त । पहिले पढ्नुपर्यो एमसीसी कहाँ राष्ट्रघाती छ ? मैले कहि राष्ट्र घात देख्या छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ । मैले नेपालको राष्ट्रको खिलाफमा जाउला ? राष्ट्रघात गर्ने काम गरौंला ? सबैले यसलाई पढ्नुस अध्ययन गर्नुस ।’ प्रधानमन्त्री देउवाले भने ।
प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा प्रचण्ड लगायत अन्य दलका नेताहरु बीच छलफल भइरहेको बताउँदै एमसीसी नेपालको हितमा रहेको दावी गरे ।
‘सित्तैमा आएको पैसा हो यो हेर्नुस । सित्तैमा आएको पैसा चाहिन्न भन्छ । वल्र्ड बैंक, एडिभीबाट हामीले ऋण लिन्छौंं । त्यसमा अन्तराष्ट्रिय कानुन लागु हुन्छ । एमसीसीले नेपालको कानुन मान्छु भनिराछ तै पनि मान्दैन । राम्रोसँग बुझ्नुपर्यो के ।’ प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा व्यापक छलफल गरेर पास गराउने समेत बताए ।
प्रधानमन्त्री देउवाले गत आइतवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी एसैसाता संसदबाट अनुमोदन गराउने प्रस्ताव राखेपछि नेकपा माओवादी केन्द्रले यसबारेमा पार्टीको महाधिबेशनपछि मात्रै छलफल गर्ने बताएको थियो ।
सोहि बैठकले एमसीसी अध्ययन तथा अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल समेत गठन गरेको थियो । उक्त कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।
वि.सं.२०७८ पुस ११ आइतवार २१:१८ मा प्रकाशित






























