दीपकको जात गयो !
हर्कलाल अछूत भयो !
रामलाल जैसी भयो !
श्यामलालका सन्तान छेत्री भए !
हरे शिव! यो कस्ले यस्तो गर्यो ?
दीपकको जात कस्तो थियो र कहाँ गयो ?
हर्कलालको पानी अड़किन्छ र ऊ अछूत भयो ?
भन,जात काढ़्नेहरू हो मलाई जबाफ चाहिन्छ,
भन, पानीहटक गर्नेहरू हो मलाई जबाफ चाहिन्छ ।
भन, जातका स्रष्टाहरू हो मलाई जबाफ चाहिन्छ,
भन, अरूलाई होच्याउनेहरू हो मलाई जबाफ चाहिन्छ्र
पैसा तिमीलाई सबै जातको चल्छ,
लुगा तिमीलाई सबै जातको चल्छ ।
मान तिमीलाई सबै जातको चल्छ,
सम्मान तिमीलाई सबै जातको चल्छ ।….
दूधमा पकाएको खान्छौ, तिम्रो जात जाँदैन,
घ्यूमा पकाएको खान्छौ, तिम्रो जात जाँदैन ।
अर्कोले नदेखी खान्छौ, तिम्रो जात जाँदैन,
लुकी–लुकी सबैथोक खान्छौ, तिम्रो जात जाँदैन ।..
होटेलमा गएर खायौ, तिम्रो जात गएन,
रेलमा मासुभात बजायौ, तिम्रो जात गएन ।
एयर बसको लञ्च पेकैज उड़ायौ, तिम्रो जात गएन,
हर्कलालले दिएको रक्सी खाँदासम्म तिम्रो जात गएन ।..
बिर्खे कामी बिधायक भयो !
साइँलो दमाई सांसद भयो !
हर्के सार्की त मन्त्री भयो !
सबैले सबैलाई निम्तो गरे,
सबैले गएर परिपूर्ण पेट भरे ।
सबैले सोमरसको रसास्वाद गरे,
कसैले कसैको कहाँ जात काढ्ने आँट गरे ।
यदि तिमीले जात बनाएका हौ भने तिमी राक्षस हौ,
यदि तिमीले जात बिगारेका हौ भने तिमी भूत हौ ।
यदि तिमीले जात झारेका हौ भने तिमी प्रेत हौ,
यदि तिमीले पानी काढ़ेका हौ भने तिमी चाण्डाल हौ्र…
काइँलो कामीले मासु पस्किएर दिए,
कसैको जात गएन ।
हर्के सार्कीले रक्सी सारेर दिए,
कसैको जात गएन ।
साइँलो दमाईले सुकुटी सेकेर दिए,
कसैको जात गएन ।
त्यस बेला तिमी मात्र मानव थियौ,
तिम्रो जात थिएन ।…
कर्णे कामी हलो जोतेर खान्छन्,
उनको तिमीलाई पानी चलेन ।
सुराखे दर्जी बनिबुतो गर्छन्,
उनको तिमीलाई पानी चलेन ।
बिर्खे सार्की त जुत्तै सिउँछन्,
उनको तिमीलाई पानी चलेन ।
बिरालाले छोएको भात खान्छौ,
मान्छेको तिमीलाई पानी चलेन ?…
यस्तो प्रथा कल्ले चलायो ?
यस्तो चलन कल्ले चलायो ?
ठूलो र सानोको भेद कल्ले फैलायो ?
समाजमा यो किन र कसरी मौलायो ?
मेरो राहु बिग्रिएन भने तिम्रो भात पाक्दैन,
मेरो केतु बिग्रिएन भने तिम्रो दाल पाक्दैन ।
मेरो नानीको न्वारन भएन भने तिम्रो नानीको न्वारन हुँदैन,
मेरो बाउको श्राद्ध भएन भने तिम्रो बाउको श्राद्ध हुँदैन…
हेर्दा त तिमी राम्रो देखिन्छौ,
हेर्दा तिमी गोरो देखिन्छौ ।
समाजमा तिमी पण्डि़त कहिएका छौ,
फेरि किन यस्तो घृणित काम गर्छौ ?.
हामीले तिम्रो गोड़ामा ढोग्यौं,
हामीले तिम्रो पूजा गर्यौ ं।
हामीले तिम्रो सम्मान गर्यौं,
हामीले तिम्रो खातिर गर्यौं ।
तिमी कसरी ठूलो र उनी कसरी सानो भए ?
तिमी कसरी बाहुन र उनी कसरी कामी भए ?
तिम्रो रगत रातो, उनको कालो छ र उनी कामी भए ?
तिमी अजम्बरी, उनी मात्र मर्छन् र उनी कामी भए ?..
यदि तिमीले जात बनाएका हौ भने तिमी राक्षस हौ,
यदि तिमीले जात बिगारेका हौ भने तिमी भूत हौ ।
यदि तिमीले जात झारेका हौ भने तिमी प्रेत हौ,
यदि तिमीले पानी काढ़ेका हौ भने तिमी चाण्डाल हौ्र…
मलाई तिमीले गरेको पूजा चल्दैन,
मलाई तिमीले उच्चारण गरेको मन्त्र चल्दैन ।
मलाई तिम्रो अनुहार हेर्न मन पर्दैन,
मेरो घरमा नआउनू, मलाई तिम्रो पानी चल्दैन ।.
मेरो राहु बिग्रिएन भने तिम्रो भात पाक्दैन,
मेरो केतु बिग्रिएन भने तिम्रो दाल पाक्दैन ।
मेरो नानीको न्वारन भएन भने तिम्रो नानीको न्वारन हुँदैन,
मेरो बाउको श्राद्ध भएन भने तिम्रो बाउको श्राद्ध हुँदैन…
मेरो वर्तमान र भविष्यमा पालिएका तिमी !
मेरो दान र अन्नमा पालिएका तिमी !
मेरो आरोह र अवरोहमा पालिएका तिमी !
मेरो खाएर मेरै जात काढ्ने तिमी !
कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम
वि.सं.२०७८ पुस १७ शनिवार ०९:०६ मा प्रकाशित






























