
आतस उतस भयो । धमाका चल्यो । खैलाबैला उठ्यो । एकजना सक्कली भिखारी दौडिरहेको थियो । उसले भिक्षा पात्र फैलाएर भनिरहेको थियो ।
‘घेराबन्दी भयो, मुक्ति पाउँ !’
‘नेतृत्वको प्रहार या प्रतिरक्षा ?’
‘अदूरदर्शी काइते कर्म !’
भिखारीले बोल्न सकेन । उसको काँधमा मैलो न मैलो गम्छा थियो । हातमा केही वालाहरू थिए । केही मुण्डमालाहरू घाँटीमा झुण्डिएको थियो । शिरमा फेटा गुथेको थियो । उसले अनायास एक शब्द निकाल्यो ।
‘सक्कली परीक्षाको पन्तुरो ।’
भिखारीले भिक्षा पात्रमा खरानी घस्यो । भुत्भुते आगोमा लगेर पात्रलाई राख्यो । भन्न थाल्यो ।
‘खीर देऊ, भगवान !’
आगोमा खीरको सट्टामा हाडखोड, हड्डी र कुहेका मासुहरू पाकेका थिए । आगोमा उसको रापिलो संताप समेत निकै भर्भराउँदो भएर बलेको थियो । आगो सल्काउने धूर्त नजिकै थियो । भिखारीले सोध्यो ।
‘तिम्रो जमान ?’
बोलेन । आँखा घुमाइरह्यो । यताउता हेरिरहँदा लाग्दथ्यो । उसको जमात मात्रै छ ! धूर्तले हुँडार झैं नाकको फोहोरा उठाएर पुनः भिखारीतिर हेर्याे । नाकको प्वाल टाउकोतिर उठाएर यसै हाँस्यो । हाँस्दाहाँस्दै उसले भन्यो ।
‘खीर त बेचिसकेँ तर खरानी मात्रै छ !’
भिखारीले हेर्दाहेर्दै आगोले भस्मिभूत बनाएको लप्लपाउँदो लाल खरानी भिक्षा पात्रमा उठाएर धूर्तको टाउकोमा खन्याउँदै भन्यो ।
‘बाँकी खीरलाई पोलेर कालो तिलक लगाऊ !’
धूर्तको साथमा लोखर्के थियो । कानमा खुसुक्क भन्यो ।
‘यो वर्ग शत्रु हो हजुर, हामीलाई घुस नदिने !’
जीवनमा झरेका हर बूँदका प्रकाशमा अन्तर्द्राव भएका भिखारीका पसिनाहरू छताछुल्ल बगेका थिए । प्रकृति शान्त थियो । निषाचरहरू दिउँसै सडकमा रोइरहेका थिए । धूर्त छेउ छाउ लागेर टाढिएको थियो । बलेको आगो चिसिएको थियो । चिसिएको ठाउँमा कसैले विहानै एक बिरुवा रोपि दिएर भिखारीलाई भन्यो ।
‘खैर ! यसले तँलाई फल देला!’
भिखारी यसपछि भिक्षापात्र फाल्दै बन्दुक बोकेर जीवन भरि हिंडिरह्यो । एकदिन उसले युध्दको क्रममा सोही आगो सेकाउँदै भन्यो ।
‘फलको रस !’
डा. विदुर चालिसे, आरुबारी, काठमाडौं