‘गणतन्त्र ल्याउन राजा गए । लोकतन्त्र फाल्न राजा आए ।’
एउटा बैरागी पशुपति नाथको अगाडि रोइरहेको थियो । उसको हातमा केही चामलको पोको, झुत्राझाम्टा कपडा र टेक्ने लठ्ठी थियो । उसको मनको वेदना थियो ।
‘वाँदर धपाउनु !’
घुमिरहेको वाँदर उसलाई कहिले तर्साएर, कहिले जिस्क्याएर र कहिले चिथोरेर हैरान दिन्थ्यो । वाक्क भएर पोको खोल्थ्यो र खानका लागि बचाएको चामल छरिदिन्थ्यो । वाँदर लुसुक्क गथ्र्यो र भाग्थ्यो । वैरागी फेरि मनको बह पोख्दै बर्बराउँथ्यो । उसको मनमा केवल एउटै इच्छा थियो र चिच्याउँथ्यो ।
‘एक पेटको जोहो !’
केही वेरोजगारहरू कराउँदै उसको अगाडि आएर खुब झपारे । मदमत्त वेरोजगारहरूले लम्कीझम्की गरे । लछारेर छेउमा नै पुर्याए अनि खबरदारीको भाषा बोलेर प्रश्न गरे ।
‘श्री पाँचको सवारी थाहा छैन ?’
वैरागी अलमल्ल पर्याे । उसले नजिकै उभिएको वेरोजगारलाई सोध्यो ।
‘कुन राजा ?’
‘कुन नि अब गणतन्त्रको नि !’
लस्करसाथ आएका पन्च भलाद्मीहरू कागजी झिल्के मिल्के मालामा सजिएर पशुपति दर्शन गर्न लाम लागेर बसे । तिनको हातमा पशुपतिनाथलाई सुनाउने दुखेसोको विज्ञप्ती पत्र थियो । पाषाण मूर्ति अगाडि उनीहरू विज्ञप्ती पत्र पढिरहेका थिए ।
‘लोकतन्त्रको हत्या !’
फर्कँदा बाटोमा पूर्व श्री पाँचलाई बाटो भेटे । अनुनय विनय गरेर भने !
‘गणतन्त्र ल्याउन त साथ दिनुभयो । एक पटक लोकतन्त्रका लागि हाम्रो भाषा बोलिदिबक्स्योस !’
पूर्व श्री पाँचले यसो टाउको घुमाए । टाढा टाढा हेरे । गम्भीर भएर एक प्रश्न सोधे ।
‘पन्चमुखी हनुमान बारे थाहा छ ?’
‘अहँ, श्री पाँच बारे मात्रै थाहा छ !’
‘लौ उसो भए कासीमा मुख धुन जानू !’
पन्चभलाद्मीहरू एकआपसमा बाझ्न थाले । यतिबेला तिनको झगडाको विषय थियो ।
‘नरिवलको स्वाद !’
एउटाले झोक्किएर सोध्यो ।
‘कस्तो छ स्वाद ?’
‘अमिलो !’
‘हैन, टर्राे छ !’
‘के जान्ने भएको, तितो छ !’
अर्काेलाई निकै झोक चल्यो । उसले जान्ने भएर भन्यो ।
‘सबै डढेको, वनारसी कोटी होमको अँगारजस्तो ।’
ती श्री पाँचहरूले लगाएको कागजी मालाको रङ उडेको थियो । न वास्ना थियो, न सौन्दर्यको इन्द्रेनी चमक नै, मात्रै वैरागीको लठ्ठी झैं सबै उभिरहे ।
‘चौटा खान गएकी बुढी झोलमा डुबी !’
वैरागी, छुल्याहा वाँदरलाई आफ्नै पोकामा बचेको चामल फेरि छरिरहेको थियो । वाँदर टपाटप टिप्दै खाँदै थियो ।
डा. विदुर चालिसे, काठमाडौं
वि.सं.२०७८ माघ ८ शनिवार ०७:५५ मा प्रकाशित






























