जुन क्रान्तिको ज्वालामा
आफ्नै घर जल्छ
आफ्नै हत्केला पोल्छ
जुन क्रान्तिको इतिहास पढ्दा
आफ्नै शिर ढल्छ
म कसरी
मुक्तकण्ठले
त्यो क्रान्तिको गीत गाउँ ?
जुन क्रान्तिमा
गरिबको मजबुर आँसु
र
भोको पेट माथि
दिनदहाडै जानाजान
सामुहिक बलात्कार हुन्छ
अनि म कसरी
क्रान्तिको स्वागत गरुँ ?
पट्पटी धाँजा फाटेका
कुर्कुचाको भरमा
ठेला उठेका हातले
सगर्व बोकेको
क्रान्तिको झण्डा
सिंहासन चुमेपछि
सधैं सधैं किन झुक्छ
सत्तालाई समयको प्रश्न ?
बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा
वि.सं.२०७८ माघ ८ शनिवार ०७:५६ मा प्रकाशित






























