म मात्र सद्दे कसरी रहन्छु
दुख्दैन छाती छलले कहन्छु ।
दुखेर घाँटी थुक र्याल सुक्छ
हुँदैन सन्चो जब देश दुख्छ ।।१।
सबै बिरामी घरमा भएका
हुन् भित्र वा बाहिर नै गएका ।
रुघा र खोकीसँग केश दुख्छ
उही बिसन्चो जब देश दुख्छ ।।२।
होला भनी कोभिड हुन्न डर्न
पुगेँ चिकित्सालय जाँच गर्न ।
खुम्चिन्छ छाती र डरेर फुक्छ
बढ्नेछ पीडा जब देश दुख्छ ।।३।
लिएँ सिटामोल जरो हटेन
लाएर पट्टी पनि यो घटेन ।
यो भ्रष्ट पापी चुपचाप ढुक्छ
तङ्ग्रिन्न लाग्यो जब देश दुख्छ ।।४।
आमा मलाई गर माफ माग्छु
तिम्रो भलो होस् दिनरात भाक्छु ।
तिमीविनाको पहिचान लुक्छ
सन्चो कहाँ होस् जब देश दुख्छ ।।५।
कथा यिनै हुन् र व्यथा अनेकौँ
घट्नेछ पोख्दा तर खै सहन्छौँ ।
अड्किन्छ यो धड्कन सास रुक्छ
ऐया र आत्था जब देश दुख्छ ।।६।
छन्द: उपजाति छन्द
उत्तम विचार काठमाडौं
वि.सं.२०७८ माघ ८ शनिवार ०७:५८ मा प्रकाशित






























