यो सून्यता !
यो एक्लोपनमा
कल्पनाले लछारपछार गर्दैगर्दा,
भत्किन्छन् मनका डिलहरु
अनि बग्छन् अक्षर
एक एकगरी,
ती सबै सबै बटुलेर
मलाई कविता बनाउन मन छ
ए ! अक्षरहरु,
शब्दहरु,
अनुच्छेदहरु,
एउटा कविता जस्तो
कविता बन्न
सक्छौ कि सक्दैनौं !
जिन्दगीको एउटा मोडमा आइपुगेपछि,
तिमी मन पराएँ–कविता !
सबै सबै मनपर्नेहरु,
आफ्ना कहाँ हुँदारहेछन् र !
फेरि पनि मैले तिमीलाई,
आफ्नो सम्झेको छु कविता !
ती विगतका यादहरुको
गुजुल्टो पारेर,
ती पीडा चोटहरुले भरिएका सबै पाना,
एकमुष्ठ पारेर,
दनदन बालिदिन्छु आज !
त्यै आगोको लप्का हेर्दाहेर्दै,
म क्वाँ क्वाँ रोएँ भने,
मलाई तिमीले सान्त्वना दिनू है कविता !
म सम्झनाका धुँवाले निस्सासिएर
आखाँ पुछ्दै हेर्दाको बखत,
तिमी मेरै छेउमा भइदिनू है कविता !
लुकेर मात्र कति रुनु !
हुँकार छोडेर रुन मन छ मलाई
तिमीसंगै एकफेरा रुने मेरो चाहानालाई
स्वीकार ल, कविता !
रुदारुदै म थकित भएर
पुलुक्क नजर खोल्दाका बखत,
मैले सामुन्नेमा तिमी देख्न पाउँ कविता !
आज मलाई धित् मर्नेगरि रुन मन छ
आँसुले विगत पखाल्न चाहान्छु
तिम्रो कुममा मुन्टो राखेर रुन मन छ
मलाई रुदासम्म अडेस दिन्छ्यौ कविता !
खुसी हुन, रमाउन त दुनियाँ छ
मलाई रुदाको साथ चाहिएको
म सबै पीर ब्यथा निख्रनेगरि रुन्छु
तिमीले शिरमा हात राखिदेऊ न कविता !!
म एकफेराअपनत्व महसुस गरुँ
म एकफेरा भरोसा महसुस गरुँ
र,लेख्न सकुँ
जीवनकै पहिलो कविता !
अर्थात् अन्तिम कविता !!
राधा पाण्डे, गैंडाकोट न.पा. नवलपुर
वि.सं.२०७८ माघ २९ शनिवार ०८:४७ मा प्रकाशित






























