दुई प्रेमिल जोडी नगरकोटमा रमाइलो गर्दै घुम्दै थिए । मोबाईलको घण्टी बज्छ । झोलाबाट मोबाइल झिकेर हेर्दै युवतीले भन्छिन् – ‘छ्या !
घरबाट फोन गर्यो ।’ प्रेमीलाई एकछिन बस्न आग्रह गर्दै, अलि पर गएर कल रिसिभ गर्छिन् । उताबाट आवाज सुनिन्छ – ‘हाई डार्लिङ ।’
‘हाई ! सुधिर ।’
‘कता छौं तिमी ? आज भ्यालेन्टाइन डे हो । ह्वाइट गुम्बा घुम्न जाउँ न ।’
‘म अहिले कोरोना पोजिटिभ छु डियर ।’
‘अहो ! गेट विल सुन डियर ।’
‘थैंक यु डियर ।’ भन्दै फोन राख्छिन् ।
प्रेमी प्रेमिका दुबै नगरकोटको प्राकृतिक मनोहर दृश्य हेरेर रमाउन थाल्छन् । फेरि फेरि युवतीको मोबाइलको रिङ बज्छ । मोबाइल झिकेर हेर्छ –‘फेरि घरबाट फोन आयो । एकछिन है ।’–भन्दै अलि टाढा गएर कुरागर्न थाल्छ । ‘हाई ! अन्जन हाउ आर यु ?’
‘आई एम वेल । हैपी भ्यालेन्टाइन डे डार्लिङ ?’
‘थैंक यु माई हार्ट । बट आई एम कोराना पोजिटिभ ।’
‘अहो ! सेड न्युज । गेट विल सुन डार्लिङ ।’
‘थैंक यु अन्जन ।’ भन्दै संवाद काट्छ ।
फेरि दुबै प्रेमिल कुरा गर्दै गर्छन् । मोबाइल झिकेर हेर्छ । सुमनको नम्बर देख्छ । कति घरबाट फोन गरेको भन्दै दिक्क मानेको अभिनयगर्दै मोबाइलको स्विच अफ गर्छ ।
प्रेमीसंग भ्यालेन्टाइन डे मनाएर भरे घर फर्किन्छ । मोबाइल खोलेर हेर्छ । सन्दिप, किशोर र विवेकले पठाएको मेसेज देख्छ । सबैलाई ‘सरि डियर ! आई एम कोरोना पोजिटिभ ।’ मेसेज रिप्ले गर्छ ।
अनुराग अरुण, ललितपुर
वि.सं.२०७८ फागुन २ सोमवार १४:०९ मा प्रकाशित






























