काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्धले विश्वको सम्पूर्ण आर्थिक क्षेत्रमा असर पर्न थालेको छ ।
दुई देशबीचको युद्धको कारणले पेट्रोलियम पदार्थ र डलरको भाउ पनि वृद्धि भएको छ ।
यस्तै युद्धकै असरका कारण सुनको मुल्यमा पनि प्रभाव पारेको छ । सोही युद्धकै कारण नेपाली खानेतेल उद्योग र बजार पनि प्रभावित हुन थालेको छ ।
त्यस्तै नेपालमा डलरको मुल्यमा आयातित हुने सबै वस्तुहरु समेत प्रभावित भएका छन् । युक्रेन सुर्यमुखी तेल र तोरीको तेलको ठुलो मात्रामा कच्चा पदार्थ उत्पादन गर्ने देश हो । युक्रेन युद्धमा फसेपश्चात अन्र्तराष्ट्रिय बजारमा भटमास र पाम तेलको मुल्य प्रभावित भएको छ ।
गत आर्थिक वर्षमा युक्रेनबाट नेपाली बजारमा अर्बौं रुपैयाँ बराबरको तेलको कच्चा पदार्थ र तेल आयात भएको थियो । तर अबको धेरै महिनासम्म युक्रेनमार्फत गरिने सम्पूर्ण आयात बन्द हुने देखिन्छ । जस कारणले नेपाली उद्योगले तेलको कच्चा पदार्थ नपाउने र बजारमा पनि तेलको प्रयाप्त वितरणमा समस्या हुने देखिएको छ ।
नेपालका तेल उद्योगहरु र बजार प्रभावित
रसिया र युक्रेन युद्धका कारण नेपालका तेल उद्योगहरूमा ठूलो प्रभाव पर्ने सम्भावना देखिएको छ । अहिले कच्चा पदार्थ र प्रशोधित तेलको मूल्य बढ्दै गएको छ ।
उद्योगीहरुका अनुसार कच्चा पदार्थ किन्नै नसक्ने अवस्था सिर्जना हुन लागेको छ । युद्धभन्दा पहिले १५ देखि १६ सय डलर कच्चा पदार्थ बढेर अहिले साढे १८ सय भन्दामाथि पुगेको अवस्था छ । विगतकै मुल्य नेपाली लोकल बजारको लागि बढी भएको अवस्थामा बढेको कच्चा पदार्थको मुल्यलाई नेपाली बजारले धान्न नसक्ने उद्योगीहरुको प्रतिक्रिया रहेको छ । हाम्रो स्थानीय मार्केट भनेको २३ सय साढे २३ सय रुपैयाँ प्रति कार्टुन भन्दा माथि छैन । अहिले बढेको मुल्यमा तेलको कच्चा पदार्थ आयात गर्दा २७ सय भन्दा माथि पर्न सक्ने अवस्था छ । उद्योगीहरुका अनुसार अहिले उद्योगीहरुसँग बढीमा ढेड महिनालाई मात्रै धान्न सक्ने कच्चापदार्थ रहेको छ ।
रुस र युक्रेन युद्धको कारण देखाउँदै नेपाली बजारमा खानेतेलको अभाव पनि सिर्जना भइसकेको छ । बजारमा खानेतेलको आपुर्ती गर्ने खुद्रा व्यवसायीहरुले अहिले उद्योगीहरुले प्रयाप्त मात्रामा तेलको आपुर्ती नगरेको र तेलको मुल्य पनि बढाएको आरोप लगाएका छन् । कोरोनाका कारण कारण मूल्यवृद्धि भएर २८० रुपैयाँसम्म पुगेको थियो । तर, बीचमा घटाएर सूर्यमूखी तेलको प्रतिलिटर २५० रुपैयाँ र भटमासको तेल २४० रुपैयाँ कायम भएको थियो । अहिले बढाएर प्रतिलिटर २७० र २७५ रुपैयाँसम्म मूल्य पुगिसकेको छ ।
खुद्रा व्यवसायीहरूले उद्योगबाट खरिद गरी बजारमा बिक्री गर्ने हुँदा पछिल्लो समय उद्योगीहरूले नै कार्टेलिङ र मूल्य बढाएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले सञ्चार माध्यमलाई बताएका छन् ।
मूल्य बढाउनेलाई कारबाही गर्न माग
बजारमा बिनाकारण तेलको मुल्य वृद्धि गरिएको राष्ट्रिय उपभोक्ता मञ्चले आरोप लगाएको छ । बजारमा बिनाकारण खाने तेलको मूल्य बढाउने उद्योगीहरूलाई कारबाही गर्न सरकार समक्ष मञ्चले माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मञ्चले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र बुझाएर माग गरेको हो ।
व्यापारीहरुले रुस–युक्रनबीच भएको युद्धको कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चूनौती दिएको मञ्चले दाबी गरेको छ । महिनौअघिदेखि स्टकमा रहेको तेललाई युक्रेन–रुसबीचको युद्ध कारण हो भन्दै मूल्य वृद्धि गरिएको छ । मञ्चले भनेको छ, ‘यो नियम कानून विपरीत मात्र नभइ व्यवसायिक नैतिकताभन्दा परको विषय हो ।’ मञ्चले खाद्य तेल मात्र होइन चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ती व्यवस्था प्रणाली नै खलबलाउने काम भइरहेको आरोप लगाएको छ ।
वि.सं.२०७८ फागुन १९ बिहीवार २०:५६ मा प्रकाशित






























