काठमाडौं । यूक्रेनलाई कब्जा गर्ने ध्याउन्नका साथ युद्धमा उत्रेको रुस संकटमा पुगेको देखिएको छ । पश्चिमा देशहरुको कडा घेराबन्दीका बीच रुस संकटमा पुगेको देखिएको हो । जारी युद्धका बीच रुसले चीनसँग सैन्य सहयोग मागेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार चलिरहेको युद्धको बीचमा रुसले चीनसँग सैन्य उपकरण सहायताको रूपमा मागेको हो। अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीहरुले बताएअनुसार रुसले चीनसँग सेनाको अल्भा ड्रोनको मद्दत मागेको छ ।
अमेरिकाले केही दिन अघि मात्रै यूक्रेन युद्धमा जोडिने तेस्रो मुलुकलाई हदैसम्मको क्षति पुग्ने चेतावनी दिएको थियो । अमेरिकाले चीनलाई संकेत गर्दै दिएको चेतावनीका बीच रुसले सहयोग मागेको हो । अमेरिकाले रुसले सहयोग मागेको चर्चाका बीच चीन अगाडि आए अहिलेसम्मकै गम्भीर नतिजा भोग्न तयार हुनुपर्ने बताएको छ ।
पश्चिमाहरुको आर्थिक नाकाबन्दीपछि रुस आर्थिक रुपमा कमजोर बन्दै गएको देखिन्छ । अमेरिका लगायत धेरै ठूला देशले रुसी बैंकहरुमाथि प्रतिबन्ध लगाएका छन् । यति मात्र होइन, धेरै ठूला कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द नै गरेका छन् ।
रुसले सहयोग मागेको थाहा छैन : चीन
रुसले सैन्य सहयोग मागेको कुरामा चीनले अनविज्ञता व्यक्त गरेको छ । अमेरिकी राजधानी वासिङ्टनमा रहेको चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्ग्युले रुसले सहयोग खोजेको बारे आफूलाई थाहा नभएको बताए।
तर, उनले चीनले सबै देशसँग सौहार्दपूर्णं सहकार्य गर्ने प्रष्ट पारे । पेङ्ग्युले युक्रेनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चीनले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउने काम जारी राखेको र गरिरहने बताए । पेन्ग्युले अहिलेको अवस्थामा तनावपूर्ण अवस्थालाई थप बढ्न नदिनु हाम्रो उच्च प्राथमिकता रहेको बताए । चीन ठूलो मात्रामा मानवीय संकटलाई संयमका साथ रोक्ने पक्षमा छ।
रुस र युक्रेनबीच मेलमिलापको कुनै उपाय छैन
रुस र युक्रेनबीचको युद्धको आज १९ औं दिन हो । दुई देशबीचको मेलमिलापको कुनै उपाय देखिँदैन । यसैबीच रुस र युक्रेनबीच चौथो चरणको वार्ता एक–दुई दिनमा हुनसक्ने खबर छ । यसैबीच युक्रेनमा रुसको आक्रमण झनै तीव्र भएको छ । युक्रेनका २४ सहरलाई निशाना बनाइएको छ । जसमध्ये १९ मा रेड अलर्ट जारी गरिएको छ । रुसले यहाँ लगातार बम वर्षा गरिरहेको छ।
वि.सं.२०७८ फागुन ३० सोमवार १२:२० मा प्रकाशित






























