सुरेशकुमार पान्डे,दाङ, हाल भारत
‘कस्ता कुरा गर्नु हुन्छ यस्ता वुर्जुवा डिग्री हाम्रो लागी कुनै काम छैन । हामी भनेको त बुजुर्वा सरंचनालाई भत्काएर वैज्ञानिक युग, नौलो जनवाद, समाजबाद र साम्यवाद ल्याउन कम्मर कसेका क्रान्तिकारी हौं !’ दिनेशको त्यो जोसिलो शब्दहरूले हलमा बसेका युवाहरूलाई शान्त बनाएको थियो । बिर्खेलाई पनि किन भनेछुं भन्ने महसुस गरायो ! एकछिन पुरै हाउसमा चकमन्न भयो ।
आज यो पहिलो दिनको कार्यक्रम थियो । कार्यक्रम सातदिने शिविर प्रशिक्षण जो सारीरिक र मानसिक रूपको भएकोले हिंजो राति देखुन कामरेड्हरू आ–आफ्नो ठाउँबाट सातदिनको ब्यबस्था गरेर आएका थिए ।
बिर्खे पहिले त आउन मानेको थिएन तर त्यो वेला पार्टी कमिटीले तोकेपछी आएको थियो । उस्को परीक्षाको दिन नजिकै भएकोले दुई दिनपछि फर्किने बाचा गरेर प्रशिक्षणमा भाग लिन आएको थियो । त्यो वेला शिविरमा आउन तोकेको एकजना न आएपछि उस्को ठाउमा अर्को आएको थियो । अहिले उस्ले कामरेड्को अगाडी आफ्नो परीक्षाको बिषयलाई लिएर दिएको छुट्टिको बिरूद्धमा दिनेशले उक्त कुरा राखेका थिए । दिनेशको शब्दहरू अत्यन्तै प्रभावशाली थिए त्यसैले होला त्यहाँ कतिपय कार्यकर्ताले त आ–आफ्ना डिग्री वा डिएमसी समेत च्यात्छन र आन्दोलनमा भागलिने प्रतिबद्धता गर्छन् ।
‘हामीले तमाम बुजुर्वा संचनालाई ध्वस्त पार्नुछ तपांई हाम्रा लागि यि वुर्जुवा डिग्रीको कुनै माने लाग्दैनन बरू यो प्रशिक्षणको कार्यक्रम हाम्रो लागी अह्म हुनसक्छ ! दिनेशले हाउसको शान्त बातावरणलाई भङ्ग गर्दै फेरि थप्यो ।’ दिनेशले फेरि भन्यो–‘अब हाम्रो कार्यदिशा भनेको ब्राम्हणवादी संस्कारलाई पनि ध्वस्त पार्नुछ । त्यसका लागी हामिले दलितहरूको संयुक्त एउटा टिम बनाएर ब्राम्हणहरुको घरमा पस्ने अनि उनिहरूलाई आफ्नो जनै छिनाउन लगाउने र उनीहरूले बिरोध गरे जनकार्वाही गर्ने । अर्को मौसमी चन्दाहरू उठाउने हो । जस्ले दिंदैन वा बिरोध गर्छ उस्लाई पनि जनकार्वाही गर्ने हो । यसबारे कसैले केही भन्नुछ ?’
दिनेशको आँखामा ज्वाला देखेर सबैले समर्थनमा परर तालि पिट्छन् । उस्का ति आँखाहरूमा क्रान्तिका लावा देखिन्थे । जोस थियो अनि देशको बर्तमान अबस्थाप्रतिको घृणा पनि झल्किन्थ्यो ।
यस्तै प्रकारले विभिन्न समयमा विभिन्न कामरेडहरूले मार्शलआर्टको पनि बिहान–बेलुकी प्रशिक्षण र पालै–पालो क्लास पनि दिन्थे ।
बिर्खेले त्यहाँको माहोलमा आफ्नो परीक्षालाई भुलिदिन्छ वा अब त्यो पढाईलाई बिटमार्ने अठोट लिन्छ । कसरी यो सात दिन बित्यो थाहानै हुंदैन । सबैले आ–आफ्नो कार्य जिम्मा लिएर आ–आफ्नो गन्तब्यतर्फ लाग्छन् ।
यस्तै गरेर कार्यक्रमहरूमा र पार्टीले पठाएको काममा खटिदै गर्दा केही दिनपछि बिर्खे आफ्नो पढाई छाडेर आन्दोलनमा हाम फाल्छ ।
लामो समपछि पार्टीले बन्दुक बिसाउँछ ।
हेर्दा हेर्दै केही दिनपछि त्यो माहोलनै परिवर्तन हुँदै जान्छ । बिर्खेले मात्र होइन युद्धमा होमिदा कयौं युवाहरूले आ–आफ्ना डिग्री काम छैन भनेर च्यातेका थिए वा च्यात्न लगाइएको थियो आज त्यही ब्यक्तिले बुजुर्वा डिग्री किनेर चुनावमा भाग लिने तर्खरमा थियो ।
बिर्खेलाई यो देख्दा अचम्म लाग्यो । केहीवर्ष पहिले आफुले गरेको मुर्खतामा पछुतो लाग्यो । तर, समय धेरै अगाडी आइसकेको थियो। एकातिर गरिबी र अर्कोतिर भएको डिग्री पनि च्यातिसकेकाले उ वेरोजगार भयो । अनि आफ्नो भागमा परेको एउटा पाटोलाई धरौटीमा राखेर कतारको लागी बल्ल बल्ल भिसा प्राप्त गर्यो । अनि विदेश जानका लागि हिँड्यो एयरपोर्टतिर ।
एयरपोर्टमा पुग्दा उस्ले कहिले नसोंचेको कुरा देख्यो । जसले डिग्री च्यातेर आन्दोलनमा होमिन भनेका थिए उनै नेताकी छोरीले बिदेशबाट डाक्टरी गरेर फर्किएकी थिइन् । उनलाई एयरपोर्टमा स्वागत गर्न दिनेश र अरू केही सांसद माला र खादा लिएर उभिएका थिए । बिर्खेले आफ्नो मुख गलबन्दीले छोप्यो र उड्ने समयको प्रतिक्षा गरिरह्यो ।
वि.सं.२०७८ चैत १९ शनिवार ०७:५२ मा प्रकाशित






























