२४ चैत । श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन ।श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेकाे बताइएकाे छ।
पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ । सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन ।
हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन । श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।
श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गर्नुभएका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वि.सं.२०७८ चैत २४ बिहीवार १४:५५ मा प्रकाशित






























