दिनेश निरौला, ओखलढुंगा, हाल- सुनसरी
‘उसले डबल एमए पढ्यो । अरु धेरै पढ्यो । नेपालको पढाईनै सबै पढेर सक्यो ।’ उसकी आमाबाट मैले सुनेकै यही हो ।
ऊ सँग प्रत्यक्ष भेटेर यौटा कुरा राख्न र दुईटा कुरा सुन्न पाए म भाग्यमानी हुनेथिएँ भन्ने मलाई लाग्दथ्यो ।
उसले नामको अगाडी डा.सुशिल लेखेको थियो ।
डाँडाघरे हुँदै होईन, डा.को अर्थ । उसकी आमालेनै लगाउनु भएको थियो । उ पढेर भन्दा पनि धेरै लेखेर डा.भएको थियो । डा. भनेको नेपालको सबै पढाई पढिसक्नु र आफ्नै कुराहरू लेख्नु हो । मैले बुझेको पनि यहि थियो ।
रहरले कहर बुझेन । मैले उसले लेखेका प्रायः सबै पढें । तर केही बुझिन । यो मेरो कमजोरी थियो । म बल्ल प्रवेशिका निखारेको आम मान्छे ।
फोनको घण्टी बज्यो । हेरें नयाँ नम्बर थियो । मन नलागि नलागि फोन उठाएँ ।
‘तिमी दिनेश हो ?’ उसले कड्किएर सोध्यो ।
‘हो ।’ मैले डराउँदै भनें ।
‘पैसा कहाँ कमायौ’ ऊ झनै कड्कियो ।
‘छैन हजुर ! म त बरोजगारी पढाई पनि छैन यसो केही लेख्छु, गरिबी बिर्सिनलाई’ ओठ कमाउँदै भने ।
‘यौटा शुद्ध छैन तिमीले लेखेको । हामी भाषा र बिषयमा पिएचडी गरेर लेख्न थालेका । हाम्रोमा कसैको ध्यान छैन । तर तिम्रै पेवा छन् मिडिया । मिडिया कसरी किन्यौ ?’ उ चट्याङ झै चड्कियो ।
‘सर पाठकले पिएचडी गरेका छैनन् । सरल शब्द मात्र बुझ्छन् ।’ म बोल्दै थिएँ फोन काटियो ।
मलाई बुझ्न समय लागेन ऊ मेरै गाउँको । नेपालको पढाई सकेको डा. सुशिल थियो ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४८ मा प्रकाशित






























